बाराको सिमरामा गाई फार्म सञ्चालक दम्पतीको विभत्स हत्या, प्रहरी अनुसन्धान के भन्छ ?
जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको विभत्स हत्या गरिएको छ । सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो ।
घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान फेला परेको हो । श्रीमतीको शव गाई फारमभित्र र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ ।
घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।
हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोली बारा आएको छ । साथै चुनावको सुरक्षामा खटिएका प्रहरी अधिकारीहरुलाई पनि झिकाएर अनुसन्धान अघि बढाइएको बैदवारले बताए ।
सुवेदी दम्पती गाई फारममा र उनीहरुका छोराछोरी घरमै सुतेका थिए । बिहान गाईहरु धेरै कराएपछि हेर्न जाँदा शव फेला परेको स्थानीयबासीले बताएका छन् ।
उनीहरुको गाई फारम घरभन्दा करिब पाँच सय मिटर टाढा खेतको बीचमा एकान्तमा छ । हत्यापछि हत्यामा संलग्न व्यक्ति गाई फारमको पछाडिबाट भागेको पाइएको छ ।
सुवेदी दम्पतीको कसैसँग रिसिइबी नभएको घरका सदस्यहरु बताउँछन् ।
-Photo Source: Onlinekhabar