पूर्व डिआइजी नवराज सिलवालविरुद्ध किन प्रयोग गरिन्छ गुनबहादुरलाई ? सत्य र वास्तविकता यस्तो
बैंकिङ कसुर ठगी अभियोगमा मकवानपुरको भीमफेदी कारागारमा रहेका चितवनका गुनबहादुर थापा (शम्भु)का छोरा सागर झण्डै एक वर्षअघि पूर्वडीआइजी नवराज सिलवालविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न पुगे । प्रहरी महानिरीक्षक नियुक्तिको विषय सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा थापा अदालत पुगेका थिए ।
नेपाल प्रहरीका एक नम्बर डीआईजी सिलवाललाई मुद्दामा कमजोर देखाउने उद्देश्य राखेर थापा अदालत पुगेका थिए । निवेदनमा सिलवाललाई मिटरब्याजमा चर्को ब्याज असुल गरेको आरोप लगाइएको थियो ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले अन्तिम सुनुवाइ गर्दै गलत मनसाय लिएर बारम्बार एउटै निवेदन बोकेर राज्यका निकायहरूमा गएकाले निवेदन खारेज गरिएको फैसला सुनायो । फैसलामा भनिएको थियो, ‘सार्वजनिक पदाधिकारीको आचरण वा चरित्र सम्बन्धमा सर्वसाधारणको चासो र सरोकार रहनु स्वाभाविक हुन्छ । तर यसका मर्यादा र सीमा हुन्छन् । कसैलाई अनावश्यक हैरान पार्ने, अनावश्यक विवादमा तान्ने, आफू वा अरु कसैको निहित स्वार्थ नियोजित रुपमा पूर्ति गर्ने माध्यमका रुपमा देखिएकाले रिट निवेदन खारेज हुने ठहर्छ ।’
गुनबहादुर त्यतिबेला जेलमा रहेकाले छोरालाई प्रयोग गरेका थिए । अदालतले मुद्दा खारेज गरिदिएपछि गुनबहादुर चुप बसे ।
सिलवालको चरित्र हत्या गर्ने गुनबहादुरको त्यो अन्तिम प्रयास थियो । गुनबहादुर प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म त त्यसअघि नै पुगेका थिए । सबै निकायबाट आरोप पुष्टि हुन नसकेपछि गुनबहादुर अदालत गएका थिए ।
उक्त प्रकरणमा छानबिन के भयो सन्दर्भमा अदालतमा बहस चलेको थियो । र, त्यो प्रसंगमा सिलवाल दोषी नरहेको प्रमाण अदालतमा पुगेको थियो । सिलवालको नक्कली अडियो रेकर्डसमेत लिएर गएका गुनबहादुरको निवेदनमाथि छानबिन गर्दा प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘गुनबहादुरलगायत व्यक्तिहरूसँग आर्थिक कारोबार गरेको भन्ने आरोप प्रमाणित हुन सकेन । वस्तुगत र ठोस प्रमाणविना रिसइबी र व्यक्तिगत स्वार्थपूर्तिका लागि नक्कली अभिलेख खडा गरी चरित्रहत्या गर्ने प्रयास गरिएको छ ।’ यही प्रतिवेदनका आधारमा अदालतले सिलवाल निर्दोष रहेको ठहर गरेको थियो ।
- Source : Sushasannews.com
हेर्नुहोस्, अदालतको फैसला
प्रहरी महानिरीक्षक नियुक्ति मुद्दा प्रभावित पार्न नसकेका गुनबहादुर हिजोआज फेरि चर्चामा आएका छन् । एक सञ्चारमाध्यमले गुनबहादुरका तिनै आधारहीन तथ्यलाई प्रमाण भन्दै सिलवालको विषयमा समाचार लेखेपछि गुनबहादुर चर्चामा आएका हुन् ।
योग्य हुँदाहुँदै प्रहरी महानिरीक्षक बन्न नपाएपछि सिलवाल राजीनामा दिएर राजनीतिमा प्रवेश गरे । अहिले उनी संयुक्त वाम गठबन्धनबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लडिरहेका छन् । उक्त क्षेत्रमा सिलवालको पक्षमा जनमत उर्लिएपछि एकाएक गुनबहादुर पात्र बनेर आइपुगे ।
विश्वसनीय स्रोतका अनुसार गुनबहादुर पात्र खडा गर्ने व्यक्ति सिलवालसँगै चुनाव लडिरहेका कांग्रेस उम्मेदवार उदयशमशेर राणा हुन् । सिलवाललाई चुनाव हराउने रणनीतिअनुरुप गुनबहादुरलाई प्रयोग गरिएको हो । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा जयबहादुर चन्दलाई सहयोग गरेका गुनबहादुर तिनै फर्जी प्रमाण लिएर मिडियामा धाइरहेका छन् ।
‘गुनबहादुर भन्ने व्यक्ति मेरोविरुद्ध पहिले पनि फर्जी कागजात र रेकर्ड बोकेर हिँडेका हुन्, ती सबै अप्रमाणित भइसकेका विषय हुन्,’ सिलवाल भन्छन्, ‘अहिले तिनै व्यक्ति, उही फर्जी कागजात बोकेर प्रयोग गरिन्छन् र मेराविरुद्ध मिडियामा फर्जी प्रमाणका आधारमा समाचार बनाइन्छन् भने मैले भन्नु के छ र ?’
सिलवालले यो रणनीतिमा प्रयोग गरिएका गुनबहादुरलगायत विपक्षी उम्मेदवारलाई धन्यवाद दिएका छन् । ‘कुनै पनि आरोप लगाउन नसकेपछि मेरो लोकप्रियता देखेर विपक्षी उम्मेदवार यसरी प्रयोग हुनुभएको छ, उहाँलाई म धन्यवाद दिन चाहन्छु,’ सिलवालले भने, ‘तर, चुनावको मुखमा यसरी प्रतिस्पर्धी उम्मेदवारलाई गलत लाञ्छना लगाउनु चाहिँ राजनीतिक चरित्र हैन ।’
कसरी भए सिलवाल निर्दोष ?
२०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा गुनबहादुरले उजुरी दिए । घटनाको प्रकृति र सिलवालमाथि लगाएको आरोपमा छानबिन गर्न समिति नै बनाइयो । अख्तियार, सतर्कता केन्द्र, गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले बनाएका समितिहरूले अध्ययन अनुसन्धानपछि सिलवाल निर्दोष रहेको र थापा ठग भएको प्रतिवेदन दिए । २०७१ मंसिर ४ गते नै ‘राफसाफ’ भइसकेको त्यही विषय अहिले बाहिर ल्याइएको छ ।
हेर्नुहोस्, प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको जानकारी :
यस्ता छन् गुनबहादुरका कर्तुत
कुरा २०७३ मंसिर पुस महिनाकोे हो । चितवनका गुनबहादुर थापाले नयाँ बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । उनले पत्रकार सम्मेलन आयोजना गर्नुको विषय थियो, डीआईजी सिलवालले जबर्जस्ती मिटरब्याजमा पैसा लगाए, जायजेथा हडपे र आफूलाई सडकमा ल्याए । त्यतिबेला आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले लगाएका आरोप प्रमाणित हुन सकेन । घटना त्यसै सेलायो ।
त्यतिबेला सोधीखोजी गर्दा उनको त्यो पत्रकार सम्मेलनमा पत्रकारहरूलाई सम्पर्क गर्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी तत्कालीन डीआईजी जयबहादुर चन्दले लिएका थिए । लागूऔषध नियन्त्रण ब्युरोको प्रमुख रहेका चन्दले सबै खर्चको चाँजो मिलाएका थिए ।
पत्रकार सम्मेलन गरेको केही दिनपछि जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले गुनबहादुरलाई ललितपुरको कुमारीपाटी नजिकैबाटै पक्राउ ग¥यो । उनलाई पक्राउ गरिनुको कारण थियो, नारायणी विकास बैंकबाट लिएको कर्जा नतिरेका कारण उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा ।
गुनबहादुरविरुद्ध तत्कालीन पुनरावेदन अदालत हेटौंडाले वारेन्ट जारी गरी पक्राउ गर्न चितवन प्रहरीलाई पत्राचार गरेको थियो । गुनबहादुरको स्थायी ठेगाना चितवन जिल्लाअन्तर्गत भएका कारण त्यहाँको प्रहरीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन आदेश दिइएका कारण उनी पक्राउ परेका थिए । प्रहरीले पक्राउ गर्दा उनले हास्यास्पद तर्क पेश गरे र आरोप लगाए, नवराज सिलवालले पावर लगाएर आफूलाई फसाए । बैंकको ऋण लिएर नतिर्नु के नवराज सिलवालको दोष थियो ?
अदालती प्रक्रिया पूरा गरेर गुनबहादुर अहिले थुनामुक्त भएका छन् । त्यसबेला जयबहादुर चन्दले नवराज सिलवालविरुद्ध प्रयोग गरेजस्तै अहिले सिलवालकै प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उदयशमशेर राणा गुनबहादुरलाई प्रयोग गरिरहेका छन् । राणाले जेलबाट छुटेर घरमा बसिरहेका गुनबहादुरलाई आर्थिक प्रलोभन देखाई ललितपुर–१ बाट स्वतन्त्र उम्मेदवार बनाएको बताइन्छ ।
निर्वाचन आचारसंहिता अनुसार हरेक उम्मेदवारले आफ्नो सफाइ दिन पाउँछन् । तर, प्रतिस्पर्धी उम्मेदवारविरुद्ध अप्रमाणित लाञ्छना लगाउन पाइँदैन । तर, कांग्रेस उम्मेदवार राणाले आफ्ना निकटतम् प्रतिद्वन्द्वी सिलवालविरुद्ध थापालाई प्रयोग गर्दै आएका छन् ।
सोही क्राममा सिलवालविरुद्ध पर्चा बाँड्दै गरेको अवस्थामा गुनबहादुरको समूहलाई महानगरीय प्रहरी वृत्त चापागाउँले बुधबार नियन्त्रणमा लिएर चेकजाँच गर्दा सिलवालविरुद्ध तयार गरिएका हजारौं पर्चा बरामद भएका छन् । निर्वाचन आचारसंहिताविपरीत हर्कत गरेपछि वृत्तका डीएसपी रवीन्द्र रेग्मीले बरामद सामग्रीसहित उक्त समूहलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइदिएका थिए । मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार आरोपितहरूमाथि छानबिन सुरू भई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।