नागरिक पोष्ट News


सावधान ! काठमाडौंको बायुमण्डलमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण भेटियो

3.8K

वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ अनुसार धुलो ४० माइक्रोग्राम -पीएम-२.५) भन्दा बढी हुनु हुँदैन । काठमाडौंमा वषर्ायाममा त्यो पाँच माइक्रोग्राममा सीमित रहन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड छ, शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुँदैन । काठमाडौंमा भने अहिले नै चार गुणा हाराहारीमा वायु प्रदुषण बढिसकेको छ ।

उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त रहेको देखाएको छ । 

भैंसेपाटी क्षेत्रमा अहिले करिब ५० माइक्रोग्राम धुलो देखिन थालेको छ । वीरेन्द्र सैनिक स्कुल आसपासको क्षेत्रमा त त्यो ७९ माइक्रोग्रामसम्म पुगेको छ ।

शंखपार्क इलाकामा ५६ र रत्नपार्कमा ३० माइक्रोग्राम हाराहारीमा देखिएको छ, धुलो ।

चिसो याममा बिहान ६ बजेदेखि बढ्दै गएको वायु प्रदुषण आठ बजे उच्च रहन्छ । मध्यान्हमा प्रदुषणको मात्रा केही कम हुन्छ । मध्यान्हपछि चल्ने पश्चिमी वायुले फेरि प्रदुषण बढाएर लैजान्छ ।

केही दिनयता काठमाडौंको हावामा दुई दशमलव पाँच माइक्रोग्रामभन्दा साना धुलोका कण बढ्दै गएका छन् । ती कणहरुमा क्यान्सर, हृदयाघात र मस्तिष्कघात गराउने रसायनहरु हुन्छन् ।

त्यस्ता कण श्वासप्रश्वासमार्फत् सीधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् । र, रक्तसञ्चार प्रणालीमार्फत् मुटुमा पुगेर जम्मा हुन्छन् । रगतमार्फत् नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात गराउँछन् ।

दिनप्रतिदिन अस्वस्थकर बन्दै गएको छ, काठमाडौं । मुटुरोगी र मस्तिष्कघात मात्र होइन, दम, फोक्सोको क्यान्सरलगायत रोगको ग्राफ पनि उकालो लागेको छ ।

उपत्यकामा सञ्चालन हुने सवारी साधन बर्सेनी बढ्ने क्रममा छन् । त्यसबाट ट्राफिक जाम मात्र बढेको होइन, वायु प्रदुषण पनि त्यत्तिकै बढाइरहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव खेमबहादुर कार्कीका अनुसार धुवाँ र धुलोका कारण गर्भमा रहेका शिशुलाई पनि असर पुग्छ ।

दुई दशमलव पाँच माइक्रोग्रामभन्दा साना कणमा रसायनको मात्रा उच्च रहन्छ, जसले बालबालिकाको मस्तिष्क विकासमा पनि असर पुर्‍याउँछ ।

विश्व बैंकको अध्ययनअनुसार पीएम-२.५ बाट प्रभावित हुनेमध्ये ७० प्रतिशत मानिसको ज्यान उच्च रक्तचाप, मुटु रोग, हृदयघात, मष्तिष्कघातजस्ता समस्याले लिन्छन् । यस्तै, १४ प्रतिशतमा क्यान्सरको समस्या आउँछ ।

बाँकी १६ प्रतिशतमा पनि फोक्सोको समस्या देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा वायु प्रदुषणकै कारण बर्सेनि नौ हजार नौ सय ४३ जनाको मृत्यु हुने गरेको छ ।

विश्व बैंक तथ्यांकले त्यसभन्दा भयावह रुप देखाउँछ, जसअनुसार नेपालमा बर्सेनि २२ हजार जनाको मृत्युको कारक वायु प्रदुषण हो ।

सर्बियाको नुम्बिओ डटकमले मार्च २०१६ मा सार्वजनिक गरेको एक रिपोर्टअनुसार काठमाडौं विश्वकै तेस्रो प्रदुषित शहर हो ।

उक्त वेबसाइटको अध्ययनअनुसार एसियाका प्रदुषित शहरको सूचीमा काठमाडौं पहिलो, मनिला दोस्रो र भारतको नोयडा तेस्रोमा पर्छन् ।

Must View