अन्तत: हत्या आरोपी बालकृष्ण ढुंगेल पक्राउ परे, शान्ति प्रक्रिया भंग हुने चेतावनी
सर्बोच्च अदालतले सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएका बालकृष्ण ढुंगेलको पक्राउ परेका छन् । पक्राउ परेका माओवादी केन्द्रका नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई सदरखोर कारागार चारखाल चलान गरिएको छ । फैसला कार्यान्वयनका लागि उनलाई कारागार पठाउन अदालतले आदेश दिएपछि प्रहरीले चारखाल कारागार चलान गरेको हो।प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आज बिहान ललितपुरको सातदोबाटोबाट पक्राउ गरेपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएका ढुंगेल आठ वर्षपछि पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई मगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । साथी भेट्न भन्दै डेराबाबाट निस्किए लगतै उनलाई साना पोसाकमा रहेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
माओवादी नेताहरुले ढुंगेलको गिरˆतारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेप भनेका छन् । जेल चलान हुँदै गर्दा पूर्वसभासद ढुंंगेलले भने आफूलाई जनयुद्धकालीन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।
मानहानीको मुद्दा लगतै पक्राउ
पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा २ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको थियो । तर, उनी पक्राउ परेका थिएनन् । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।
ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्चले सिफारिस कार्यान्वयन रोक्यो ।
सर्वोच्चले ३१ चैत २०७३ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश पनि दियो तर, पक्राउ परेनन् । आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले ४ कात्तिकमा प्रहरी प्रमुखविरुद्ध अदालतको अवहेलनाको मुद्दा हाले ।
ढुंगेललाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराएर सदरखोर चलान गरिएको छ । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।