नागरिक पोष्ट News


२०७४ बडा दशै शुरु आज घटस्थापना, घरघरमा जमरा राखिँदै

5.3K

दशैको पहिलो दिन घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

बडा दशैंको प्रथम दिन आश्विनशुक्लप्रतिपदादेखि घरघरमा घटस्थापना गरी भगवती दुर्गा भवानीको पूजाआजा आरम्भ गरिन्छ । नवरात्रको यस अवधिमा आदिमाता आद्यशक्ति महामाया देवी भगवतीका विभिन्न रुपको प्रतिदिन विधिपूर्वक पूजा गरिन्छ । नवरात्रका प्रत्येक दिन देवीका दश अवतारको फरकफरक विधिले पूजा गरी शक्ति जगाई आफूले अभीष्ट सिद्धि प्राप्त गर्ने प्रयास गरिन्छ । दशै शक्ति उपासना र जीवनोत्थानका लागि अध्यात्म साधनाको पर्व हो ।

शैलपुत्रीको पूजाआजा गरिदै :

नवरात्रको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव भएकी देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई सहसमृद्धि र शान्ति प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ ।  माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु बिहानैदेखि मुलुकका विभिन्न देवीमन्दिरहरुमा भेला भएका छन् । भगवती शैलीपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती हेमावती, प्रकृति,नामले समेत पुकार्ने गरिन्छ । शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी लोकमा विभिन्न हितरक्षा गर्न जगतमा उद्भव भएका हुन् । शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी  नन्दीमाथि चढेकी छन् भनेर उनको चित्रण  गरिएको छ । उनले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवीभागवत दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ  । यस दिन देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवी शैलीपुत्रीको आराधना गरी  भक्तहरुले देवी पूजन गर्दछन् ।  गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान गरिन्छ । सफलता ,सिद्धि र दीर्घायुको कामना गरिन्छ ।

Must View