चंगा उडाउने मुडमा हुनुहन्छ, जिन्दगीभर पछुताउनुपर्ला ! एक टेलिभिजन पत्रकारको रियल पीडा र कथा
- कविता अधिकारी
टेलिभिजन पत्रकारिता आफैमा एउटा चुनौतीपूर्ण क्षेत्र । आफूले लेखेर बुझाउने भन्दा पीडितको भाव दृश्यमार्फत सार्वजनिक गरिने ठाउँलाई क्यामरामा कैद गरि उसको बोली सवै जन–मानसमाझ पुर्याउने खुवी पत्रकारले राख्नसक्नुपर्छ । त्यसैले जो कोही टेलिभिजनमा काम गर्ने रहर भएर पनि हत्तपत्त आइहाल्दैनन् । टेलिभिजन सञ्चार दृश्यसँग सम्बिन्धित भएकाले शारीरिक सुन्दरता प्राथमिक बन्छ । त्यसैले टेलिभिजनले पनि शारीरिक सुन्दरतालाई नै छनौटको आधार बनाउँछन् । तर हिमालयन टेलिभिजनमा समाचार वाचन गर्ने कमला श्रेष्ठ विलकुल फरक छिन् । दुवै हात र एउटा खुटटा नहुँदा पनि उनी टेलिभिजन सञ्चार र मनोरञ्जनको फिल्डमा सक्रिय छिन् । समाचार वाचक मात्र होइन कमलाको परिचय गायिका र समाजसेवीका रुपमा पनि छ ।
एकदिन डल्लुस्थित उनको घर पुग्दा कमला बेैठक कोठामा मिलाएर राखिएको सोफामा बसेकी थिईन् । उनका दुवै हात छैन र खुट्टा पनि एउटा मात्रै छ । बुट्टेदार निलो रंगको टिसर्टमा उनका छोटा हात प्रष्टै देखिन्थे । उनी घरको काम पनि आफैं गर्न सक्छिन् कि जस्तो लाग्यो । प्रश्न सोधेँ– ‘घरको काम पनि आफैं गर्न सक्नुृहुन्छ ?’ गोरो अनुहार भएकी उनले मुस्कानसाथ भनिन्– ‘घरको अलि अलि काम गर्न सक्छु, हेर्नुस् त मैले गरेको मेकअप कस्तो छ ।’ आफूलाई भेट्न कोही आउँदैछ भन्ने थाहा पाएपछि उनी आफैं मेकअप गर्दिरहिछिन् । अहिले उनी निकै राम्रो मेकअपमा थिईन् । घरमा आफैं मेकअप गरे पनि टीभीमा भने अरुले नै मेकअप गरिदिन्छन् । तर, उनलाई लाग्दोरहेछ क्यामेराले आफ्नो अनुहार राम्रो देखाएन ।
टेलिभिजनको पर्दामा समाचार वाचन गर्ने यिनको शारीरिक अवस्था कसरी यस्तो भयो ? १२ बर्षको चञ्चले उमेरमा दशैंमा अरुले चंगा उडाएको देख्दा कमला खुव रमाउँथिन । डल्लुमा घर सडकसँगै टाँसिएको थियो । तीन तल्ले घरको छतबाट देखिने रंगीन चंगाहरु आकाशमा उडेको देख्दा मन दङ्ग हुन्थ्यो उनको । १९ बर्ष अघिको घटना संझिइन् कमलाले– ‘ईन्द्रजात्राकाको दिन स्कुल विदा थियो । एकजना भाइले मेरो घरमाथि रडमा अलिझएको चंगा झिकिदेउ भन्यो । मैले रडमै समातेर चंगा झिक्न खोजेँ । जे जे हुनु त्यही दिन भयो । अनि म यस्ती बनेँ ।’ करेन्ट प्रवाह भएको रडमा छुंदा उनी बेहोस् भइन् र उनका हात खुट्टा नै काट्नु पर्यो । दुई महिनासम्म कोमामै बसेर उनको उपचार भयो बीर अस्पतालमा । ६ महिनापछि घर फर्किंदा उनका दुवै हात र दाहिने खुट्टा थिएनन् । चराजस्तै आकाशमा उड्न मन लाग्ने बेलामा उनी पँखेटा कटिएकी चरी जस्तै भईन् । १२ बर्षकै उमेरमा दुवै हात र एउटा खुटटा काटिएर घरमै बस्नु परेपछि उनलाई लाग्यो– ‘जिन्दगीको चंङ्गा नै चेट भयो ।’
कमलालाई अपांग बनाउने ११ हजार भोल्टेज हाईटेन्टशन अझै पनि त्यहीँ छ । घर अगाडिकै हाईटेन्सशको तलतिरबाट उनी दैनिक घर भित्र र बाहिर गर्छिन् । उनले निकाल्न खोजेको हाईटेन्शनमा अल्झिएको त्यो चंङ्गा निस्कियो या निस्किएन उनलाई थाहा भएन तर, उनको जीवनको धागो भने त्यही दिनदेखी चँुडियो । अहिले आकाशमा रंगीचंगी चंङ्गा उडेको देख्दा उनी कहालिन्छिन् ।
शारीरिक रुपले अपांग बनेकै दिनदेखि कमलाको पढाई पनि छुट्यो । स्कूल जाने वातावरण नमिलेपछि उनले घरमै पढ्ने कोसिस् गरिन् । तर घरका सबै आ–आफनो काममा व्यत हँुदा आफूमात्र बस्नुपरेपछि दिक्दारी लागेर उनले बाबुसँग आफूले पनि केही गर्ने ईच्छा ब्यक्त गरिन् । परिवार सम्पन्न थियो । न्युजल्याण्डका रब बुचनानको सहयोगमा उनी एक महिना अष्ट्रेलिया बसिन् र कृतिम हातखुटटा जोडेर फर्किइन् । पुरै हिंडडुल गर्न नसके पनि विस्तारै हिंड्न त्यसले मद्दत मिल्यो । त्यसपछि उनी कामको खोजिमा बाहिर निस्किइन् । सञ्चार क्षेत्रमा काम गर्ने अठोटले विभिन्न सञ्चारमाध्यममा आफैं गएर काम गर्ने इच्छा ब्यक्त गरिन् । केहीे एफएम रेडियोहरुमा अपांगता सम्वन्धी कार्यक्रम चलाईन् उनले ।
त्यसपछि उनले हिमालयन टेलिभिजनका नारायण पुरीलाई भेटिन् । टेलिभिजन सम्वन्धी तालिम नलिएकी कमलालाई हिमालयन टेलिभिजनले त्यहीँ तालिम दिएर काममा लगाउन मद्दत गर्यो । ‘मैले हिमालयन टेलिभिजनमै न्युज एङकरको तालिम लिएँ अनएयर पनि भएँ ।’ उनी अहिले सातामा दुई दिन समाचार वाचन गर्छिन् ।
उनलाई अहिलेसम्म समाचारको बीचबीचमा प्रश्न टिप्ने या अन्य समाचार बनाउनु पर्ने झन्झट आएको छैन । ‘सरहरुले मलाई त्यस्तो अप्ठारो होला भनेर नराखिदिनुभएको हुनसक्छ तर कहिलेकाहिँ भने फोन लाईभ गरेकी छु ।’ हप्तामा दुईपटक उनी भाइको मोटरसाइकलमा बसेर र कहिलेकाहिँ ट्याक्सी चढेर टेलिभिजन अफिस पुग्छिन् । कृतिम हात खुट्टाको सहयाताले अफिसको तीन तल्ले विल्डिङको तल माथि आफैं गर्छिन् ।
टेलिभिजनमा समाचार हेर्ने दर्शक कसैले पनि अनुमान नै लगाउन सक्दैन कि कमलाको हात खुट्टा छैनन् । समाचार पढ्दा उनी कुहिनेसम्म मात्रै बाँकी भएका हात टेवलमा राख्छिन् । कृतिम हातका औंलामा नङ पनि छन् । जसमा उनले नेलपोलिस लगाएकी हुन्छिन् । कालो कोटको बाहिरबाटै प्रष्ट देखिन्छन् उनका दुवै हात कृतिम हुन् । तर, उनलाई समस्या छ, ती हात उनी आफैं शरीरमा गाँस्न सक्दिनन् । ‘मैले नसक्ने भनेको यही हात लगाउने काम हो, यसमा मलाई दिदी र आमाले सहयोग गर्नुहुन्छ’ उनले भनिन्, ‘घरबाट हात लगाएर टेलिभिजनमा पुगेपछि सबैले सहयोग गर्छन् ।’
कमलाले केही सपना पूरा हुन्छन् केही सपना अधुरा हुन्छन् भन्ने थिममा गीति एल्बम निकालेका छिन् । ‘कोमल सपना भन्ने मेरो एल्वम हो हेर्नुस है’ उनी भन्दै गईन् ‘केही सपना पूरा हुन्छन्, केही अधुरै हुन्छन् भन्ने सन्देश दिन पनि मैले यस्तो गीत ल्याएकी हुँ ।’ मान्छे जिन्दगीमा खुसी हुन सक्नु पर्ने र त्यस्तो खुसी आफैं भित्रबाट आउने उनको अनुभव रैछ ।