होशियार ! पेनकिलर ब्रुफिन वा ब्रुसेट खाँनाले कलेजो र मिर्गौला यसरी बिगार्छ
चिकित्सकहरुले स्वीकार्ने गरेका छन्, ‘जथाभावी पेनकिलरको प्रयोग खतरनाक हुन्छ ।’ यद्यपि हामीकहाँ चिकित्सकले त्यस्ता औषधीलाई निषेध भने गरेका छैनन् । कतिपय अवस्थामा उनीहरुले समेत त्यही औषधि सिफारिस गर्छन्, जसले क्षणिक रुपमा रोग त निको हुन्छ । तर, दीर्घकालीन असर भने भयावह हुन्छ ।
पेनकिलर सेवनले तत्कालै हुने साइट इफेक्ट भनेको पेट दुख्नु, सुन्निनु, ग्याष्ट्रिक हुनु हो । तर, दीर्घकालीन रुपमा त्यसले कलेजो र मिर्गौलालाई नराम्ररी क्षति पुर्याउँछ, जसको उपचार महंगो मात्र होइन, असम्भव पनि हुन सक्छ ।
धेरैले नबुझेको सत्य के भने, यी औषधि वास्तवमै हानिकारक र घातक हुन् । हामीले औषधिको नाम वा विमारको प्रकृति भन्नसाथ औषधी पसलेले समेत त्यस्ता औषधि भिराइदिन्छन्, जो विष समान हुन्छ । त्यसैले यस्ता औषधि हामी अन्धधुन्दा सेवन गरिरहेका छौं । हामी आफुमात्र होइन, बच्चालाई समेत सेवन गराइरहेका छौ । यसले उनीहरुको कलेजो, मृगौलामा निकै हानी/नोक्सानी पुर्याइरहेको हुन्छ ।
कसरी खतरनाक ?
ब्रुफिन, बु्रसेट, फ्लेक्सोन लगायतका औषधिमा प्यारासिटामोल ५ सय एमजी का साथमा आई बीयू ४ सय एमजीको समिश्रण रहेको हुन्छ ।
यस्ता समिश्रणयुक्त औषधीले स्वास्थ्यका लागि विष समान हो । त्रि.वि शिक्षण अस्पतालका पर्माकोलोजिस्ट डा. संगरत्न बज्राचार्य स्वीकार्छन्, ‘समिश्रणयुक्त औषधी हानिकारक हुन्छ ।’
उनी के पनि थप्छन् भने, ‘जब ज्वरोका लागि प्यारासिटामोलले नै काम गर्छ भने त्यसको ठाँउमा आई बीयू ४ सय एमजीसमेत भएको फ्लेक्जोनको सेवनले स्वास्थ्यमा त असर पार्छ नै ।’
यी औषधिको जथाभावी प्रयोगले रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै पेट पोल्ने, ग्यास्टि्रक, मिर्गौला खराब हुने लगायतका विभिन्न समस्याहरु निम्तने उनी बताउँछन् । यसबाट बच्नका लागि सकेसम्म मिश्रण नभएको औषधिमात्र सेवन गर्न समेत डा. बज्राचार्य सुझाउँछन् ।
उनी भन्छन्, ‘कुनै पनि औषधिको निश्चित मात्रा तथा प्रयोजन हुन्छ । तोकिएको मात्राभन्दा अधिक औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सजग रहन जरुरी छ ।’