चितवन माडीका बाढीपीडितहरुको घाउँमा मल्हम लगाउन अपाङगता भएका व्यक्तिहरु यसरी जुटे
4.3K
- शब्द तथा प्रस्तुति : भरतराज उप्रेती
नेपाली चलनचल्तीमा भन्ने गरिएको छ, गरीबको दुःख र व्यथा गरीबले नै बुझ्छ, हुनेखानेलाई के मतलव, अनि अचानोको चोट खुकुरीलाई के थाहा । हो यस्तैमा नेपाली जीवनशैलीको रौनकता झल्किन्छ । बाटोमा माग्नेलाई अर्को गरीब दुःखीले नै दान दिन्छ वा एकपेट खान दिन्छ । यस्तै उदाहरणीय सामाजिक काम गरेका छन्, अपाङगता भएका व्यक्तिहरुले ।
२०७४ मा तराईमा आएको बाढीले सारा तराईबासीको जीवनशैली तहसनहस बनाइदियो । ठूलै प्राकृतिक बिपत्ति खनियो तराइबासीमाथि । चितवनको माडी पनि बाढी प्रकोपबाट अछुतो रहेन । धन नभएका तर मन भएका अपाङगता रहेका व्यक्तिहरुले माडीका केही परिवारलाई दुःख विपत्तिको घडीमा मल्हम लगाउने काममा जुटे । राष्ट्रिय अपाङग अनुसन्धान तथा विकास केन्द्रको समन्वयमा मोप्पो नेपाली समाज दक्षिण कोरियोको संयूक्त पहलमा अपाङगता भएका व्यक्तिहरुले रु १ लाख ५० हजार मुल्य बराबरको राहत वितरण गरे ।
राष्ट्रिय अपाङ अनुसन्धान केन्द्रका अध्यक्ष निलकण्ठ पौडेल आफै अग्रसर भएर सो सहयोग संकलन र बितरणका लागि अपाङगता भएका साथीको साथ चितवनको माडीमा पुगे र संकलित राहत माडीका अति प्रभावित परिवारलाई बितरण गरे । उनीहरुको यो कामको राहत लिने ती परिवारहरुले नै नतमस्तक भएर तारीफ गरे ।
नेपाली समाजमा अपाङगता भएका व्यक्तिहरुले केही गर्न सक्तैनन् भन्नेहरुलाई राष्ट्रिय अपाङ अनुसन्धान केन्द्रका अध्यक्ष निलकण्ठ पौडेलको यो सामाजिक कामको गतिलो झापड पनि हो ।नागरिकपोष्टसँगको अनलाइन कुराकानीमा अध्यक्ष पौडेले भने, सरकारकै मात्र मुख ताक्ने भन्दा पनि भइपरिआउने यस्ता प्राकृतिक विपत्तिका जो जसले जहाँबाट पनि सहयोगका लागि तत्पर हुनुपर्दछ भन्ने सन्देश र सामाजिक पाठ पनि हो, अर्को कुरा अपाङगता भएका व्यक्तिहरु माग्ने मात्र हुन् भन्ने सामाजिक सोचाइकै परिवर्तनका लागि पनि हामीले यस्तो सामाजिक प्रयास थालेका हौ, परेको बेला हामी पनि समाजमा सहयोग गर्न सक्छौ भन्ने प्रमाणित गरेर देखाउन पनि हामी सामाजिक अभियानमा यात्रा जोडेका छौ, र यसलाई निरन्तरता दिइरहने छौं, निलकण्ठ पौडेलले बताए ।
अब्दुल बसिद कतार, फम्फा खड्का लन्डन, अरुण सेजुवाल दक्षिण कोरिया, विष्णु गौतम, प्रदिप कुमार केसी, रवि मर्हजन, बिदुर श्रेष्ठ, एलिना संग्रौला लन्डन, लगायत व्यक्तिहरुको आर्थिक सहयोगमा राहत वितरण गरिएको र भिम केसी, प्रमेश्वर जोशी, हरिकृष्ण गजुरेल, विष्ण ज्ञवाली, ज्ञानु भण्डारी लगायतका व्यक्तिहरु बाढि पीडितहरुको घर आगनमा पुगेर राहत वितरण गरेको निलकण्ठ पौडेलले बताए ।
मान्नैपर्छ, अपाङगता भएका व्यक्तिहरुको यो सामाजिक प्रयासलाई, सलुट छ निलकण्ठ पौडेलको यो साहसलाई । होटल रेष्टुरेन्टमा खाएर र विलासीताका लुगा लाएर मात्र ठूलो भइदैन । समाजमा ठूलो हुन र चिनिन त निलकण्ठ पौडेल जस्ता शारीरिक अपाङगता भएका व्यक्तिहरुले गरेका जस्तै सामाजिक काममा लागे मात्र काफी छ। त्यसैले एकपटक सामाजिक रुपमै मनलाई निर्देशित गर्ने हो की !
राष्ट्रिय अपाङग अनुसन्धान तथा विकास केन्द्रको समन्वयमा मोप्पो नेपाली समाज दक्षिण कोरियोको संयूक्त पहलमा चितवनको माडीमा राहत बितरणका फोटो झलकहरु