“गौरा” पर्व : सुदूरपश्चिमेली धार्मिक, सांस्कृतिक एवं सामाजिक लोकप्रिय पर्व
डोटेली लोक संस्कृतिका छटाहरुमा “गौरा” एक धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय पर्व हो । सुदूरपश्चिम (हाल प्रदेश नं. ७) को डोटेली हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो गोरा पर्व !
विशेषतः गौरी र महेश्वर (पार्वती र शिव) को पूजा अर्चना गरिने यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइन्छ ।शुक्ल पक्षमा मनाइने गोरा लाई ‘उजेली गोरा’ अर्थात उज्यालो गौरा र कृष्णपक्षमा मनाइने गोरालाई ‘अनारी गोरा’ अर्थात अँध्यारो गोरा भनिन्छ । प्रदेश नं. ७ का ९ वटा जिल्लामा धुमधामका साथ मनाइने गोरा पर्वलाई गौरा, गमरा, गवँराका जस्ता थपै्र नामले पनि चिनिन्छ । डोटेली लोकपर्व “गौरा” पर्वको महिमा ! यस्तो छगौरामा गाइने अठवालीको एक अंश
गवरीको व्याउ भयो जो सुनी गावै
जो सुनी गावै जगिना फल पावै
आठ अठवाली जो धिया सुनै
गाउन्यैको होइजालो पुत्र कल्याण
सुन्यैको होइजालो गंगा स्नान (कृष्णराज ओझाको अठवाली गीतको सोधग्रन्थबाट) नेपालीमा अर्थ : गौरीको विवाह भएको जसले सुन्छ र सुनाउँछ उसले यज्ञ गरेवापतको फल पाउँछ । आठ अठवाली जो छोरी गाउँछे उसले पुत्र कल्याण प्राप्त गर्दछे, जसले सुन्छे उसले गंगा स्नान गरे जस्तो फल पाउँछ भन्ने कुराहरु माथिको अठवालीका पंक्तिहरुमा व्यक्त गरिएको छन । गोरा पर्वका सम्बन्धमा गौरी र महेश्वरको विवाह उत्सव, गौरी माताका वर्तका प्रभावहरुका बारे थुप्रै गाथाहरु पाइन्छन् । जनश्रुतिका आधारमा गौरी माताको वर्त बसेमा पुत्रप्राप्ति, सन्तान सुख र परिवार सुख प्राप्त हुन्छ भन्ने मान्यता रहिआएको छ ।
गोरा पर्वको सुरुवात व्रत बस्ने महिलाहरुले आफ्नो घर, गोठ सरसफाई गरी सुद्ध, चोखो भई बिरुडा (पाँच प्रकारका गेडागुडीहरु – गहुँ, केराऊ, गहत, मास र गुरास) भिजाएर गर्ने गर्दछन् ।
अर्को दिन खेतबारीबाट सामा (धानको बोटका बीचबीचमा उम्रिने धानजस्तै झार) का साथसाथै काँस, कुस र तीलबाट दुलहीको रुपमा गौरीको प्रतिमा बनाई कपडाको घुम्टो, श्रृङ्गारपटार र गरगहनाले सजाइन्छ भने पिर्का (काठको चाक्लो फलेकमा बस्ने गरी खुट्टा पनि बनाइएको हुन्छ) जसलाई महेश्वर/शिवको प्रतिमालाई पनि रातो कपडाले छोपिन्छ ।
शिवको प्रतिमामाथि गौरीको प्रतिमा डालोमा राखी गोराको प्रतिमा तयार गरिन्छ, जसलाई गोरा घर वा गोरास्थानमा स्थापन गरिन्छ ।