तीव्र गति नै दुर्घटनाको मुख्य कारण, वर्षभित्र १० हजार दुर्घटना, २ हजारभन्दा बढीको मृत्यु
एक वर्षमा देशभर १० हजार दुर्घटना भएका छन् । जसमा २ हजारभन्दा बढीको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष ०७३/७४ मा १० हजार १ सय ७८ दुर्घटना भए । ०७२/७३ मा १० हजार १३ दुर्घटना भएका थिए ।
चालकलाई अनुशासनमा राख्न नसक्दा धेरै दुर्घटना हुने गरेका छन् । फितलो कारबाहीका कारण चालकले लापरबाही गर्ने गरेको पाइएको छ । गत वर्ष ७ हजार ४ सय ८७ दुर्घटना चालकको लापरबाहीले भएका थिए ।
चालक र पैदल यात्रुको एक सेकेण्डको असावधानीको कारण भयानक सडक दुर्घटना हुन्छ-भिडियोसहित
प्रहरीका अनुसार गत वर्ष १ हजार ३ सय ९१ तीव्र गति, ३ सय ७३ यात्रुको गल्ती, २ सय १३ ओभरटेक, २ सय ४९ यान्त्रिक गडबढी, ३३ ओभरलोड, २ सय ८८ मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा तथा एक सय ४० वटा दुर्घटना अन्य कारणले भएका छन् ।
दुर्घटनाबाट औसतमा दैनिक ६ देखि ७ जनाको मृत्यु हुने गरेको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७३–७४ मा २ हजार ३ सय ८४ जनाले ज्यान गुमाएका छन् । अघिल्लो वर्ष २ हजार ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, आव ०७१–७२ मा दुई हजार चारको ज्यान गयो । गत वर्ष दुर्घटनामा ४ हजार २५० गम्भीर घाइते भए भने ८ हजार २ सय ९० सामान्य घाइते भएका थिए ।