अनुराधाको संघर्ष :साँघुरो डेरामा जन्मिएको माइती नेपाल देशकै उदाहरणीय सामाजिक संस्था
3.4K
शिक्षकको सामान्य जागिर खाएर औषतको जीवन गुजारा गरिरहेकी अनुराधा जब दैनिक पशुपति पुग्थिन्, त्यहाँ एउटा दृश्यले उनलाई निकै घोच् थ्यो । हट्टाकट्टा महिलाहरु हात पसारेर भीख मागिरहेका हुन्थे अनि सामुन्ने सडकमा उनीहरुकै बालबच्चा नांगै लडिबुडि गरिरहेका देखिन्थे ।
यो दृश्य देखेर अनुराधालाई दिक्क लाग्थ्यो । मेहनत नगरेर यी महिलाहरु किन सडकमा लम्पसार परेर भीख मागिरहेका छन् ? के सडकमा उनीहरु सुरक्षित छन् ? उनलाई यी प्रश्नले निरन्तर घचघचाइरह्यो। उनी उत्तर खोज्न लागिन् । बुझ्दै जाँदा उनीहरु कुनै न कुनै रुपमा हिंसाको सिकार भइसकेको उनले पत्ता लगाइन् । सडकका तीनै महिलालाई बालबच्चासहित आफ्नो डेरामा ल्याइन् र अनुराधाले महिला हिंसाविरुद्धको सामाजिक जागरण थाल्ने अठोट गरिन् ।पच्चिस वर्षअघि आजैका दिन अनुराधाले गौशाला पिंगलस्थानको साँघुरो डेरामा माइती नेपाल जन्माएकी थिइन् ।
शिक्षण पेसामा बीस वर्ष बिताइसकेकी अनुराधाको नयाँ यात्रा यहीबाट सुरु हुन्छ । केही सहकर्मी बटुलेर उनले आफ्नै डेरामा माइती नेपाल खोलिन् । उनीसँग कुनै स्रोत र पूर्वाधार थिएन । दिनभर माइती नेपालको अफिस अनि त्यही ठाउँ राति उनकै निवास बन्थ्यो । शिक्षकको सामान्य कमाइले ती बालबच्चा र महिलालाई डेरामा पाल्न निकै सकस थियो । केही समय ऋण सापटी गरेर चलाइन् । चिनजानका शुभचिन्तकलाई जमानी बस्न लगाएर माइती नेपालको घर व्यवहार चलाउनुपर्ने अवस्था आयो । आफू तनाव र अभावमा बसेर पनि उनले बालबच्चा र महिलालाई शानका साथ राखिन् । माइती नेपाललाई उनले निकै संघर्ष गरेर हुर्काइन् ।
निकै अप्ठ्यारो र अभावबीच मानवबेचबिखनविरुद्ध एउटा साहसिक र जोखिमपूर्ण यात्रा थाल्ने निधो गरिन् अनुराधाले । विभिन्न शक्ति केन्द्रको समेत संरक्षण र अपराधिक गिरोहको संलग्नतामा भइरहेको यो धन्दाविरुद्धको यो लडाइ सजिलो थिएन । स्रोत साधनको कमी, अपराधिक गिरोहको निशाना, कमजोर संस्थागत संरचना, अविश्वास र असहयोगी राज्य संयन्त्र, अनि सानो साथ, अनुराधाको यात्रा साच्चिकै कठिन थियो । यो यात्रामा अनुराधा र माइती नेपालले चुनौती, जोखिम र समस्या पलपलमा भोग्नुपर्यो तर उनी कहिल्यै विचलित भइनन् । निरन्तर डटेर लागिन् । उनको अदम्य साहस र इच्छाशक्ति नै माइती नेपालको पुँजी र उर्जा थियो र आज पनि छ । जसले यात्रालाई निरन्तर अगाडि बढायो ।
माइती नेपालको स्थापनापछि अनुराधा अंग्रेजी प्रपोजल बोकेर डलर लिन डोनरकहाँ धाइनन् । बरु जनचेतनाका लागि गाउँ पस्ने निधो गरिन् । पद्मकन्याका विद्यार्थी, केही संचारकर्मी र प्रहरीको साथ लिएर महिला बेचबिखन हुने नुवाकोटा, सिन्धुपाल्चोक र धादिङका दुर्गम वस्तीतिर लागिन् । टोलटोल र घरघरमा पुगेर अनुराधाले चेलबेटीबिखनविरुद्ध चेतना फैलाइन् र आवाज बुलन्द गरिन् । यो अभियानमा प्रहरी, संचारकर्मीबाट उनले राम्रो साथ पाइन् । आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखेर अनुराधा यो यात्रामा दिलो ज्यान दिएर लागिन् । उनलाई आज सन्तोष छ, समाधानको पुरै खुसी नभए पनि ।
अनुराधा र माइती नेपालको कामबाट प्रभावित भएर बेलायती युवराज चार्ल्सले आफ्नो नेपाल भ्रमणको कार्यक्रममा माइती नेपालमा समावेश गरे । भ्रमणपछि उनले माइती नेपाललाई सहयोग गर्न खुला पत्र लेखे । चार्ल्सको भ्रमण र खुला चिठीपछि माइती नेपाल र अनुराधाको यात्रा नयाँ चरणमा प्रवेश गर्यो । अन्तराष्ट्रिय संस्था तथा दाताहरुले चासो लिन थाले अनि देशविदेशमा माइती नेपाल र अनुराधाको चर्चा हुन थाल्यो । सहयोगका लागि प्रस्ताव पठाउन थाले र माइती नेपाल विस्तारै पूर्वाधार निर्माणको अभियानमा जुट्यो।
माइती नेपाललाई आत्मनिर्भर र दिगो बनाउने अभियानका अभियन्ता हुन् जर्मन नागरिक डा.वीन फ्रिड किल । साइकल दुर्घटनामा छोरी सोन्या किल गुमाएपछि किलले त्यो शोकलाई सामाजिक क्षेत्रमा शक्तिको रुपमा लगानी गर्न थाले । माइती नेपालको केन्द्रीय कार्यलयसँगै रहेको बालगृह, पुनस्र्थापना गृह, स्कूल र अस्पतालसहितको माइती भिलिजको निर्माण सोन्या किल फाउन्डेसनकै सहयोग र सहकार्यमा संभव भएको हो ।
अनुराधा भन्छिन् , यो मामुली समस्या होइन । कुनै एक व्यक्ति वा संस्थाको एक्लो प्रयासले यसको समाधान संभव छैन । तर सुरुवात व्यक्ति व्यक्ति संस्था संस्थाबाटै हुनुपर्छ । हामी सबैको साझा प्रयासले मात्र यो समस्यासँग हामी प्रभावकारी रुपमा जुध्न सक्छौं ।’
मानव बेचबिखन आफैमा एउटा व्यापक समस्या हो । यो नेपालको मात्रै मुद्दा होइन । विश्वव्यापी समस्या हो यसको स्वरुप र आयम निरन्तर परिवर्तन भइरहेको छ । कुनै देश, समुदाय, ठाउँ विशेषसँग जोडेर मात्रै यो समस्याको सही पहिचान हुनसक्दैन ।
यो भयानक समस्यामा माइती नेपाल र अनुराधाको सानो प्रयास कम्तीमा समाधानको दियो बनेको छ । मानब बेचबिखनविरुद्ध समाजिक चेतना बढेको छ । राष्ट्रिय मुद्दा बनेको छ र सिंगो समाज समस्यासँग परिचित भएको छ । समस्याका विरुद्ध व्यापक जनमत तयार भएको छ । मानब बेचबिखनलाई एउटा गम्भीर सामाजिक अपराधको रुपमा परिभाषित गरेर राज्यले प्रभावकारी कानुन बनाएको छ । सर्वोच्च न्यायलयले यस अपराधविरुद्ध प्रभावकारी आदेश र निर्देशन दिएको छ । बेचबिखनमा संलग्न अपराधीहरु धमाधम जेल परेका छन् ।
माइती नेपालको पहलमा दिदीबहिनी बेच्ने थुप्रै अपराधीहरु जेल परेका परेका छन् ।माइती नेपालले सयौं बालबालिका र महिलाको उद्धार गरेको छ । जोखिम परिस्थितिमा रहेका धेरै महिला तथा बालबालिकाको पुनस्र्थाना गर्ने काम पनि माइती नेपालबाट भएको छ ।
मानव बेचबिखनविरुद्ध अनुराधाले प्रदर्शन गरेको अदम्य साहस र उनको अनवरत संघर्षको देश विदेशमा प्रशंसा भइरहेको छ । नेपालबाट सिएनन हिरोको अवार्ड पहिलोपटक उनले नै हात पारिन् । भारतको निकै प्रतिष्ठित सम्मान पद्माश्री पुरस्कार पाउने अनुराधा नै पहिलो नेपाली हुन् । उनले अरु थुप्रै अन्तराष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेकी छिन् । उनी भन्छिन् , ‘म त माध्यम मात्र हो । यो सबै माइती नेपाल र यहाँ रहेकाक सबै बालबालिका र महिलाको सम्मान र सम्पत्ति हो । यसले हामीले अघि बढ्न थप हौसला प्रदान गरेको छ ।’
साढे दुई दसकअघि अनुराधाले डेरामा जन्माएको माइती नेपाल आज देशकै एउटा उदाहरणीय सामाजिक संस्थाका रुपमा स्थापित भएको छ। जोखिममा रहेका हजारौं महिला तथा बालबालिकाका लागि आश्रय तथा आसाको केन्द्र बनेको छ । पच्चिस वर्षको यात्रा सम्पन्न गरेकोमा माइती नेपाल र माइती परिवारलाई बधाइ तथा सुभकामना
- समाचार स्रोत : Ramilonewsnepal.blogspot.com