प्लास्टिकको चामलको हल्लाको भरमा टंकप्रसाद शेरचनले पाएको भौतिक र मानसिक यातनाको सास्ती
प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौँको सानो भर्याङस्थित शेरचन ब्रदर्श प्रालिका सञ्चालक टंकप्रसाद शेरचनलाई पक्रियो। बिचरा शेरचनले रोइकराइ गरे। चामल भारतबाट ल्याएको हो कहाँ प्लास्टिकको हुनु भनेर बिन्तिभाउ गरे। प्रहरीको दिमागमा भने त्यो प्लास्टिककै भएको धुन सवार थियो। उसले व्यापारीको कुरा मानेन। पसल सिल गर्यो र चामलको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठायो। शेरचन अनुसन्धानका लागि प्रहरीकै नियन्त्रणमा रहे। अन्ततः सरकारी ल्याबले रिपोर्ट पनि दियो। यस्तो लेखिएको थियो रिपोर्टमा।
साभार : अनवार्ड नेपाल
ल्याब रिपोर्टमा प्लास्टिकजन्य बाह्य पदार्थ अनुपस्थित लेखिएको थियो। भनेपछि प्रहरीको शंका गलत साबित भयो। प्रहरीले प्लास्टिकको चामल बेचेको भन्दै व्यापारीको गरेको बदनामी व्यर्थ साबित भयो।
यो वापत् ती व्यापारीले पाएको भौतिक र मानसिक यातनाको क्षतिपूर्ति कसले दिने?
नक्सालमा रहेको १ नम्बर गणमा शेरचनले बेचेको भनिएको चामलको भात सेलाएको बेलामा खाँदा अररो निल्नै नसक्ने भएपछिको रिसमा परेका रहेछन् उनी। यस्तो पनि हुन्छ र। अब शंकाको भरमा यत्रो पीडा दिए वापत् माफी त मागे उनीहरुले? अनि अब त प्लास्टिकको चामलको बारेमा हल्ला गर्ने हल्लाखोरहरु पनि चुप बस्नु पर्ने हैन?
- Mysansar