नागरिक पोष्ट News


दिगो विकास लक्ष्यहरू सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

4.9K

- शर्मिला विश्वकर्मा, काठमाण्डौं, २८ असार २०७४ 

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा सि.वि.एम. को सहयोगमा अपाङ्गताको सवालमा दिगो विकासका लक्ष्यहरू ( Sustainable development Goals) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम काठमाण्डौंमा सम्पन्न भयो । सो कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारा वदन सेडाईले सबैलाई स्वागत गर्दै यो दिगो विकास लक्ष्यहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई समावेश गरी अगाडि बढाउने तर्फ लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।  त्यसै गरी सि.वि.एम. का वरिष्ठ कार्यक्रम अधिकृत पदम महरले अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्थाहरूलाई सि.वि.एम.ले सहयोग गर्दै आएको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्नको लागि उनीहरूको सही तथ्याङ्क भएमा काम गर्न सहज हुने कुरामा जोड दिनु भयो । 

सो एक दिने अभिमुखीकरण कार्यक्रमका श्रोत व्यक्ति प्रकाश वाग्लेले दिगो विकास लक्ष्यहरू ( Sustainable development Goals) को बारेमा जानकारी दिँदै यसको महत्त्व, दिगो विकासका लक्ष्यहरूले अपाङ्गता भएका व्यक्तिहरूका के कस्ता सवालहरू समावेश गरिएको छ भनी जानकारी दिनुहुँदै यसका १७ वटा लक्ष्यहरूका बारेमा प्रस्ट पार्नुभयो । त्यसै गरी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अपाङ्गता अधिकार प्रवर्द्धन शाखाका शाखा अधिकृत निमराज भट्टराईले दिगो विकास लक्ष्यहरूमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका सवालहरू समावेश गर्नुपर्ने बताउँदै आगामी दिनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले दिगो विकास लक्ष्यहरूमा धेरै भन्दा धेरै अपाङ्गताका सवाल समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यहाँ भएका नीतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि सरकारी तथा गैर सरकारी संस्थाहरूको साथ र सहयोगको आवश्यकता रहेको बताउनु भयो । सो कार्यक्रममा दिगो विकास लक्ष्यहरूमा समावेश गरिएका गरिबीको अन्त्य, भोकमरीको अन्त्य, सुस्वास्थ्य र समृद्ध जीवन, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पिउने पानी तथा सरसफाई, किफायती र स्वच्छ ऊर्जा लगायतका १७ वटा लक्ष्यहरूको विषयमा पाँच वटा समूह बनाएर छलफल गरिएको थियो । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले दिगो विकास लक्ष्यमा अपाङ्गताका सवाललाई समावेश गरी कार्यान्वयन गर्न अपाङ्गताको क्षेत्रमा काम गर्ने सबै संघ संस्थाहरू र अधिकारकर्मीहरू अग्रसर हुनु पर्ने बताउँदै यो कार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सक्दो सहयोग गर्ने बताउनु भयो । सो एक दिने अभिमुखीकरण कार्यक्रमको सञ्चालन नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदीश प्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू र सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

 

Must View