नागरिक पोष्ट News


गृहमन्त्री ज्यू, बलत्कारी हत्यारा भगाउने डिएसपीलाई कारवाही कहिले हुन्छ ?

4.1K
- मात्रिका पौडेलको शब्दमा    आफ्नी छोरी सुन्तलीलाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई तत्कालिन डिएसपी सन्जिव शर्माले नै भगाएपछि डिल्लीमायाले आफ्नो पीडा छाति पिटी–पिटी रुँदै मिडियालाई बताएकी थिइन् ।    १४ वर्षको उमेरमा २०६८ माघ ५ गते घाँस काट्न गएका बेला सिसन्धुको जंगलमा आफ्नै छिमेकी श्याम राउतले छोरी सुन्तली तामाङको बलात्कारपछि हत्या गरेका थिए । राउत पक्राउ परे तर तत्कालिन डिएसपी सन्जिव शर्माले अभियुक्तलाई अनुसन्धान नै नगरी रिहा गरे । अभियुक्तको परिवारले त्यसपछि डिल्लीमायाको परिवारलाई गाउँमा बस्न दिएन ।

मलाई न्याय दिलाएरमात्र थकाइ मार है आमा । छोरीले सपनामा आएर भनेको ‘मलाई न्याय दिलाऊ है आमा’ भन्ने शब्दले डिल्लीमायालाई ५ वर्षसम्म लखेटिरह्यो । त्यतिबेलाको डिएसपी सन्जिव शर्मा दासले मलाई बोक्सीको जस्तो व्यवहार गरेर प्रहरी चौकीको कुनामा राख्यो । हत्यारालाई ज्वाँइ जस्तो सम्मान गरेर राख्यो । 

न्यायका लागि कहाँसम्म गइनन् ? केसम्म गरिनन् ? सिंहदरवारमा पुगेर मुख्य सचिवसँग रोइन् । नक्साल पुगेर आइजिपीको सामुन्ने रोइन् । अदालतमा न्यायाधीशको इजलासमा रोइन् । पत्रकारका सामुन्ने धित खोलेर रोइन् । अन्ततः उनको आँशु पुछ्न डिएसपी कुमोद ढुंगेल अग्रसर भए । एउटा डिएसपीले आँशु दिए, अर्का डिएसपीले खुसी । प्रहरीको भरोसा गर्न छाडिसकेकी डिल्लीमायालाई अहिले आएर लागेको छ– सबै पुसिल अफिसर भ्रष्ट र बेइमान हुँदैनन्, जनताको पीडामा साथ दिनेहरु पनि छन् ।

६ महिनासम्म विस्थापित भएर सिन्धुलीको माइखोलामा ढुंगामा नाबालक छोरालाई राखेर गिटी कुटेँ । मेरै छोरीको हत्या भयो, मैलाई हत्याराले गाउँमा बस्न दिएनन् । छोरीले सपनामा आएर रोएपछि न्यायको लडाइ लड्छु भनेर गाउँ फर्किदै थिएँ ।

खुर्कोट पुलमा त्यहिँ डिएसपी सन्जिव शर्मा दास भटियो । उसले डिल्लीमाया दिदी बसाई सर्नुभयो कि के हो भनेर सोध्यो । मैले तपाईले गर्दा म बिस्थापित भएँ भनेर जवाफ दिएँ । उसले अनि त्यो लिखु खोलाको खेत चाहिँ के गर्नुभयो भन्यो । मैलै विस्थापित भएपछि के गर्नु भनेर जवाफ दिएँ । उसले त्यसो भए अब आउँदा त्यो खेत मेरो नाममा पास गरिदिनुस् भन्यो । ‘केटी पाए जसले पनि गर्छ’ भन्ने घिनलाग्दो कुरा डिएसपीको मुखबाट सुनेको हुँ, पीडित डिल्लीमाय तामाङले भनिन्, हत्यारालाई जेल होस् । अनि त्यो डिएसपीलाई पनि कारवाही होस्, यतिमात्र छ अब बाँकी । किनकी मेरी छोरी त अब फर्केर आउँदिन तर उसको आत्माले शान्ति पाउनेछ ।

छोरीको बलतकारी हत्यारालाई कानूनी कठघरामा उभ्याउने न्यायिक लडाई ५ वर्षदेखि एक्लै लड्दै आएकी डिल्लीमायाको साहसलाई मान्नैपर्दछ । न्यायिक लडाईको पहिलो ठेस लगाउने रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्माले बोलेको घृणित शब्दलाई डिल्लीमायाले पत्रकार सम्मेलनमा साहसका साथ सार्वजनिक गरिन् । 

गृहमन्त्रीलाई प्रश्न

नेपाल प्रहरीको विशेष टोलीले सुन्तलीको बलात्कारपछि हत्या गर्ने २४ वर्षीय श्याम राउतलाई भारतको अण्डमान निकोबार टापुबाट लखेट्दै भैरहवाबाट पक्राउ गरिसकेको छ । सुन्तलीकी आमा डिल्लीमायाले डिआइजी गणेश केसीसहित उच्च प्रहरी अधिकृत समक्ष तत्कालिन डिएसपी सन्जिव शर्मा दासले अभियुक्तलाई भगाएको र खेत घुस मागेको बताएकी छन् ।

डिआइजी केसीले शर्मालाई यसअघि नै बिभागीय कारवाही स्वरुप सरुवा गरिएको जवाफ दिएका छन् । अब प्रश्न उठ्छ– हत्या र बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेर बिना अनुसन्धान भगाउने डिएसपी शर्मामाथि कारवाही हुन्छ कि उनले उन्मुक्ति पाउछन् ? गृहमन्त्री जनार्दन शर्मा र आइजिपी प्रकाश अर्यालका सामू यो प्रश्न डिल्लीमायाको मात्र होइन सबैको हो । - अनलाइनखबर बाट साभार

Must View