एकै झिल्कोमा खरानी बनेको यती कार्पेट र केडियाको २५ वर्षको लगानी
उद्योगमा कसरी आगो लाग्यो भन्ने प्रश्न छ । म्यानेजर साहका अनुसार शनिबार राति करिब सवा ११ बजे उद्योगको नजिकै रहेको ट्रान्सर्फमर पड्किएको थियो । त्यसबाट नजिकै रहेको फर्निस आयलको ड्रममा आगोको झिल्का पर्यो । त्यही आगोको झिल्काबाट सुरु भएको आगो केमिकलमा पुगेपछि फैलियो ।
आगो फैलिँदै गएपछि कम्पनीका कच्चा पदार्थका रुपमा मौज्दात राखिएका फाइबरमा सल्कियो । त्यसपछि गोदाम हुँदै बजार पठाउन तयारी अवस्थामा राखिएका कार्पेटमा आगो लाग्यो । गोदामको आगो फैलिँदै उद्योगको मुख्य उद्योग भवनसम्म फैलिएको थियो, जहाँ मेसिनहरु जडान भएका थिए । २५ वर्षमा यो उद्योगले नेपालमा आफ्नो ठूलो बजार हिस्सा ओगट्न सफल भएको थियो । नेपाली कार्पेट उद्योगहरुमध्ये यसको बजार हिस्सा अहिले ७० प्रतिशत छ । बजारमा यो कार्पेट प्रचलित मात्रै हैन, चर्चित नै छ । केडिया अर्गनाइजेशनको प्रारम्भिक आँकलनअनुसार उद्योगमा रहेको ९० करोडदेखि १ अर्ब रुपैयाँबराबरको सामान जलेर नष्ट भएका छन् ।
यती कार्पेटका म्यानेजर साहले आगो नियन्त्रणका लागि उच्चस्तरीय प्रविधि नेपालमा पनि आवश्यक भएको सन्देश सरकारलाई पुर्याउन अनुरोध गरेका छन् ।।
‘सबै आगो एकै प्र्रकारका हुँदैनन्, पानीले मात्रै आगो निभ्दैन भन्ने कुरा सरकारलाई थाहा हुनुपर्ने हो’ साह भन्छन्,’केमिकल र डिजेल बलिँरहँदा पानी हाल्नुपर्ने बाध्यताको अन्त्य जरुरी देखियो ।’
साहले थपे- ‘अब हामी यो समयमा राज्यलाई पनि हेरिरहेका छौं, नेपाललाई कार्पेटमा आत्मनिर्भर बनाउने हाम्रो योजनामा लागेको धक्कालाई सरकारले कसरी हेर्ला ?’
- Source: सुदिल/रविन्द्र/Onlinekhabar