इटहरी हाँक्ने सारथीहरु को को ? राजनीतिक विश्लेषणसहित प्रदेश नं १ को राजधानी इटहरी उपयुक्त
इटहरीको मेयरका उम्मदेवारको प्रश्न छ, एमालेले जिल्ला पार्टी अध्यक्ष द्वारिकलाल चौधरी र सर्वध्वज साँवा, रामप्रसाद चौलागाईंमध्ये एकलाई मेयरमा उठाउने तयारी गरेको छ । एमालेले उपमेयरमा लक्ष्मी गौतम र विष्णु शर्मामध्ये एकलाई उम्मेदवार बनाउने चर्चा छ ।
त्यसैगरी नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल पक्षका हेमकर्ण पौडेल र देउवा पक्षका रोहित प्रसाईंको नाम चर्चामा छ । पौडेल केही विवादित छविका मानिन्छन् ।
प्रसाईं चाहिँ उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिमा समेत नेतृत्व गरेका व्यक्ति हुन् । तर, पार्टीभित्रको सक्रिय राजनीतिक योगदानमा प्रसाई भन्दा पौडेल अगाडि छन् । सापेक्षित स्वच्छ छवि खोज्दा प्रसाईको स्कोर बढी हुन्छ । गुटगत हिसाबले हेमकर्णको पोजिसन रोहितको भन्दा अलि कमजोर छ । कांग्रेसका तर्फबाट उपमेयरमा गीता श्रेष्ठ र विमला ढकालको नाम अगाडि आएको छ ।
माओवादी केन्द्रले इटहरी उपमहानगरको मेयरमा हरिमाया जिमी (वीरता किराँती) लाई अघि सारेको छ । उपमेयरमा सागर सुवेदीको नाम माओवादीले टुंगो लगाएको छ । पहिला माओवादीबाट सुवेदी मेयरको उम्मेदवारका रुपमा चर्चामा थिए । तर, उनी एकाएक उपमेयरको उम्मेदवार बन्नुका पछाडि नेपाली कांग्रेससँग गठबन्धन गर्नका लागि सिलसिला मिलाइएको धेरैले अनुमान गरेका छन् ।
प्रदेशको राजधानी इटहरीमै राख्ने किन नि ? धनकुटा या बिराटनगरमा बनाए के हुन्छ ? यो प्रश्नमा स्थानीय सञ्चारकर्मीहरुको एकमुष्ट तर्क यस्तो थियो-
एक नम्बर प्रदेशमा रहेका १४ जिल्लामध्ये पहाडका जनतालाई बिराटनगर जानुभन्दा इटहरी पायक पर्छ । एक नम्बर प्रदेशमा सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र खोटाङजस्ता जिल्लाहरु समेटिएका छन् । यी जिल्लाका बासिन्दाहरु धनकुटा र बिराटनगरको यात्रा गर्दा इटहरी हुँदै आउने-जाने गर्दछन्, त्यसैले इटहरी सबैका लागि केन्द्र भागमा पर्छ । र, यही केन्द्र भागमा परेकै कारण अहिले इटहरीको तीब्र शहरीकरण भइरहेको हो ।
सगरमाथा अञ्चल जस्तै मेची अञ्चलका चारै जिल्लाका मानिसहरुलाई पनि बिराटनगर वा अन्यत्रभन्दा इटहरी नै सहज हुन्छ । इटहरी शहरको विस्तारको सम्भावना पनि प्रशस्तै छ । सार्वजनिक जमिन र भौतिक संरचनाहरु पनि छन् ।
महानगरपालिका भएकै कारण बिराटनगरलाई नै प्रदेशको राजधानी बनाउनुपर्छ भन्ने हो भने ७ नम्बर प्रदेशमा एउटा पनि महानगरपालिका छैन । त्यस्तै दुई नम्बर प्रदेशको राजधानी जनकपुरलाई बनाउनुपर्छ भन्ने बहस भइरहेको छ । तर, जनकपुर महानगर होइन, वीरगञ्ज मात्रै महानगरपालिका हो । दुई नम्बर प्रदेशको राजधानी बाराको सिमराले पनि दाबी गर्न सक्छ ।
तर्क के आयो भने धनकुटा सदरमुकाम पनि महानगरपालिका होइन । तर, धनकुटाबासीले पनि प्रदेशको राजधानी धनकुटामा हुनुपर्ने माग राख्न छाडेका छैनन् । धनकुटा प्रदेशको राजधानीका लागि ‘कुनो’ पर्ने इटहरीबासीको तर्क छ । - अरुण बराल/Onlinekhabar