नागरिक पोष्ट News


काठमाडौँको उपमेयरमा हरिप्रभा खड्गी (श्रेष्ठ), को हुन् हरिप्रभा ?

4K
 महानगरपालिकाको उपमेयरमा भारी मतसहित निर्वाचित हरिप्रभा खड्गी (श्रेष्ठ) को जन्म विक्रम सम्बत् २०२४ मा बुबा हरिचन्द्र दास श्रेष्ठ र आमा लक्ष्मी प्रभा श्रेष्ठको कोखबाट भएको थियो । भक्तपुरको भरुवा चोकमा जन्मिएकी हरिप्रभाको बाल्यकाल सोही नेवार बस्तीमा धुलो माटोसँग खेल्दै आफन्त छरछिमेकमा दौडँदै बित्यो । प्रारम्भिक शिक्षा पनि सोही बस्तीको एक पाटी (चौतारो) मा बसेर सिलेटमा खरीले क ख लेख्दै सुरु भयो । भक्तपुरको पद्म कन्या स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरिन् । बाबु डाक्टर भए पनि उनलाई कानुन पढ्ने रहर थियो । उक्त इच्छा आफ्नै सानोबुबा केदार प्रसाद गिरी (पूर्व प्रधानन्यायधीश) ले प्रेरणा र सहयोगले पुरा भयो तर बिचमै अँधुरो रहन गयो । एसएलसी सकेलगत्तै वि.सं. २०४२ मा ल क्याम्पसमा भर्ना भएर पढाइ सुरु गरेकी हरिप्रभाको साइन्सका विद्यार्थी बागबजारका प्रकाश खड्गीसँग माया बस्यो । त्यति बेला बहुदलको राजनीतिक आन्दोलन सुरुवाती चरण भएकाले युवा विद्यार्थीहरू आन्दोलनको तयारीको अग्र मोर्चामा थिए । आन्दोलनको तयारीबारे छलफल गर्न विभिन्न कलेजका विद्यार्थीहरूबिच आवत जावत, छलफल, बैठक भइरहन्थ्यो । सोही क्रममा त्रिचन्द्र क्याम्पसमा बिएस्सी पढ्दै गरेका प्रकाश र हरिप्रभाको चिनजान मायाप्रेममा बदलिएको थियो ।  राजनीतिक यात्रा हरिप्रभावको राजनीतिक जीवन वि.सं. २०४२ बाट सुरु भयो । घरमा राजनीतिक माहोल थिएन । तर हजुरबुबा कुलदास श्रेष्ठकामा सधैँ नेता गणेशमान सिंहको चर्चा भइरहन्थ्यो । सोही कुराहरूबाट प्रभावित हरिप्रभा ल क्याम्पसमा पढ्दा नेपाली काँग्रेसको भगिणी सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइन् । विवाहपछि १ वर्षजति राजनैतिक काममा पनि खासै समय दिन नपाएकी उनले फेरि २०४४ सालमा पिके क्याम्पसमा सङ्घमा नै जोडिएर सक्रियता देखाइन् । वि.सं. २०४६ सालको आन्दोलन चर्किँदै थियो । हरिप्रभाले आन्दोलनमा पार्टीले तोकिदिएको जिम्मेवारी सम्हाल्न थालिन् । उनलाई सडक आन्दोलनमा उत्रिएकाहरूलाई पानीको व्यवस्था मिलाउने र सुरक्षाकर्मीको आक्रमणबाट घाइते भएकाहरूलाई सुरक्षित स्थानमा लैजाने र प्रहरीको दमन धरपकटका क्रममा आवश्यक सामग्री उपलब्ध गराउने जिम्मेवारी थियो ।

भातृ सङ्गठनको इकाइ सदस्यदेखि उपमेयरसम्म हरिप्रभा काँग्रेसका भ्रातृ संस्थाका इकाइ, क्षेत्र, जिल्ला हुँदै उनी केन्द्रको राजनीतिमा आएकी थिइन् । ०४६ सालमा नेपाल महिला सङ्घको इकाइका सचिव, त्यसपछि क्षेत्रीय सदस्य हुँदै २०५४ सालमा स्थानीय चुनावमा २८ नम्बर वडाको वडा सदस्यमा उठेर जित हासिल गरिन् । भातृ सङ्गठनमा नै सक्रिय उनी पुनः ०५७ सालमा नेमसङ्घको जिल्ला सदस्य बनिन् । वडा सदस्यसमेत भइसकेकी हरिप्रभाले पछि ०६२/०६३ सालको जन आन्दोलनमा त्यहाँकाको नेतृत्व नै सम्हालिन् ।

मात्र ६ महिनाको बच्चा छोडेर आन्दोलनमा होमिएकी हरिप्रभाले आन्दोलनको यसरी सम्झना गरिन्, “त्यति बेलाको आन्दोलनका क्रममा कति चोटि जेल परेँ थाहा छैन । दुई तिन दिनमा पक्राउ परिरहन्थ्यो । एक दिन रत्नपार्कमा काँग्रेस नेतृ सुजता कोइरालाले प्रहरीलाई लात्ताले हानेपछि हामी तिन जना ( हरिप्रभा, लक्ष्मी थापा र सांसद सरस्वती बजिमय) लाई गिरफ्तार ग¥यो । कोइला राख्ने ट्रकमा हामीलाई हालिएको थियो, कहिले दायाँ कहिले बायाँ हामी बजारिन्थ्यौँ, त्यो बेला बाँचिन्छ भन्ने रत्ति लागेन । यसरी नै हामीलाई अब मार्ने रहेछ भन्ने लागेको थियो तर आधा रातमा पछि छाड्यो ।” सोही आन्दोलनमा अर्को संयोग पनि जु¥यो यताबाट हरिप्रभा पक्राउ परिन् । अर्को क्षेत्रबाट प्राध्यापक सङ्घबाट आन्दोलनमा सडकमा उत्रिएका श्रीमान प्रकाशलाई पनि नियन्त्रणमा लिएको थियो । प्रकाश हरिप्रभा भन्दा पुराना काँग्रेसका सक्रिय सदस्य हुन् । हरिप्रभा पछि काँग्रेस निकट नेपाल महिला सङ्घको ०६४ र ०६९ सालमा दुई कार्यकाल केन्द्रीय सदस्य पनि बनिन् । उनको योगदान र निरन्तरताकै कारण नेपालमा भएको पहिलो र दोस्रो पटकको संविधान सभा निर्वाचनमा काँग्रेसले संविधान सभाको चुनावमा समानुपातिकको सूचीमा राखेको थियो । तर हरिप्रभा पार्टीको गुटगत राजनीतिको सिकार भइन् तर दुबै पटक उनी सभासद हुनबाट वञ्चित भइन् । गिरिजा प्रसाद कोइरालाको आग्रहमा पहिलो संविधान सभाको समानुपातिक सभासद छनोटको दौडबाट उनी बाहिरिएकी थिइन्  ।

काठमाडौँको उपमेयरमा विजयी भएपछि समर्थकहरू माझ खुसी साट्दै हरिप्रभा । साथमा काठमाडौँ वडा नं. ८ का वडाध्यक्ष भाइराम खड्गी ।

गणेशमानको प्रेरणा, मङ्गलादेवीको सम्झना हरिप्रभाको राजनीतिमा झुकाव नै गणेशमानका कारण भयो । त्यसपछि धेरै नेताहरूसँग उनको सङ्गत र चिनजान भयो । तर उनी गणेशमान, मङ्गलादेवी सिंह र गिरिजा प्रसाद कोइरालालाई आदर्शको पात्र मान्दछिन् । सबैभन्दा धेरै माया, सहयोग र राजनीतिमा लाग्ने प्रेरणा गणेशमान सिंहकी श्रीमती मङ्गलादेवीबाट पाएको उनको भनाइ छ । उपमेयर जितेरपछि उनैको घरमा पुगेको मिर्मिरे अनलाइनसँगको कुराकानीमा उनले भनिन्, “अहिले यो खुसीमा म गणेशमान र मङ्गलादेवी सिंहलाई सम्झिरहेकी छु ।” त्योसँगै नेता प्रकाशमान र नवीन्द्रराज जोशीको पनि प्रशंसा गर्न पछि परिनन् ।

योजना के छ ? महिलाहरुरू आर्थिक रूपमा सक्षम नभएसम्म उनीहरू सक्षम नहुने र आधा भन्दा बढी मुलुकको जनता असक्षम हुँदा विकासको गतिमा देश अघि नबढ्ने उनको बुझाइ छ । त्यसैले महिला दिदी बहिनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन पहिले शैक्षिक स्तर उकास्ने र उद्योगी बनाउँदै लैजाने योजना उनको छ । तर त्यसका लागि सहज भने उनी आफैँले देखेकी छैनन् । भन्छिन्, “महानगरमा जितेर आएका हरेक महिला जनप्रतिनिधिसँगको सहकार्यमा सबै वडामा अभियान लाने छु । समाज, परिवार मात्रै होइन सरकारका नियम कानुनहरू पनि महिलाका लागि बाधक छन् । म यी सबै सुधार गर्न लाग्छु । महानगरबासीले सुधारको अनुभूति गर्न पाउने छन् तर अरुको साथ र सहयोग कस्तो हुन्छ, हेर्न बाँकी छ । त्यस्तै अबको केही समयमा नै वसन्तपुर र धरहरा लगायतका सम्पदाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाएर सम्पन्न गराउने छु।”

त्यसबाहेक काँग्रेसको घोषणा पत्रअनुसार विकास निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले महानगरभित्र बसोबास गर्ने भाडावालहरूलाई पनि सहज हुने गरी विज्ञहरू समेटिएको संयन्त्र बनाएर हरेक घरका कोठाको सर्भे गरेर भाडादर निर्धारण र भाडावालबाट कर उठाउने कार्य पनि व्यावस्थित बनाउने  ।

 

Must View