नागरिक पोष्ट News


हेटौंडाको मेयर र उपमेयरमा एमालेको हृयाट्रिक हरिबोल महतले जोगाए हेटौंडाको लालकिल्ला

2.9K
 हेटौंडाको मेयरमा एमालेका हरिबोल महत विजयी भएका छन् ।  ५८ वर्षीय महत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । ३१ वर्षअघि अर्थात २७ वर्षको उमेरमै तत्कालीन हेटौंडा नगर पञ्चायतको वडाध्यक्ष निर्वाचित भएका थिए । 

हरिबोल महतको विशेषता नै हो कि उनले कुनै चुनाव हार्नुपरेको छैन । ०४३ देखिका सबै चुनाव जित्दै आएका महतका लागि यसपटक ठूलो खड्गो टरेको छ । महतले यसपटक दोहोरो हृयाटि्रक गरेका छन् ।

पहिलो हृयाटि्रक हेटौंडा उपमहानगरपालिकामा तेस्रो पटक एमाले जितेर भएको छ भने अर्को हृयाटि्रक भनेको लगातार ४ पटक हेटौंडामा वडाध्यक्ष, उपमेयर र मेयर जितेर उनी आफैंले गरेका छन् । संघर्षपूर्ण र लामो दौडमा एमालेका नेता हरिबोल महतले सत्तारुढ गठबन्धलाई पछि पार्दै हेटौंडाको लालकिल्ला जोगाउन सफल भए । हेटौंडाको उपमेयरमा पनि एमालेकै मीना लामा भारी मतान्तरले सहजै बिजयी भइन् । हेटौंडा एमालेको लालकिला मानिन्छ । आजसम्मका सबै चुनावमा हेटौडा नगरमा एमाले बाहेक अरु पार्टीले जितेका छैनन् । ०४९ र ०५४ मा एमालेका डोरमणि पौडेलले मेयर जित्दा हरिबोल महत दुवैपटक उपमेयर जितेका थिए । 

हेटौंडा उपमहानगरपालिकामा यसपटक एमालेका उम्मेदवारले चुनाव जित्नु फलामकै च्यूरा चपाए सरह थियो । सिंगो मकवानपुरमा आफ्नो प्रभाव बढाउदै लगेका गृहराज्यमन्त्री तथा कांग्रेस नेता इन्द्र बानियाँको प्रतिष्ठाको विषय थियो हेटौंडा ।

कांग्रेस माओवादी गठबन्धनका मेयर उम्मेदवार आनन्दराम पराजुली आफैं पनि ठेकेदार भएकाले साधन स्रोतको कमी थिएन । राप्रपाको एउटा ठूलो समूह भित्रभित्रै पराजुलीको पक्षमा लागेको थियो । महत निकै कठिन दौडमा थिए । तर, जिते ।

जित्नुका पछाडि धेरै कारण होलान्, मुख्यतः एमालेको मजबुत संगठन र हरिबोल महतको व्यक्तिगत प्रभाव नै हो । महत जिल्लामा सामाजिक अगुवाका रुपमा स्थापित छन्, जसको प्रभाव मतदातामा पर्ने नै भयो ।

Must View