पहिलो महिला मेयर बनिन् कान्तिका : जुम्लाको चन्दननाथ नगरपालिकामा
4.8K
कान्तिका सेजुवाल जुम्लाको चन्दननाथ नगरपालिकामा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित गर्ने क्रममा यसपालिको स्थानीय निर्वाचनमा पहिलो महिला मेयर बन्ने सौभाग्य प्राप्त गरेकी हुन्। उनले १० वटा वडा रहेको नगरपालिकामा २७७७ मत प्राप्त गरेकी थिइन्। गत महिना उनलाई मेयर पदका लागि सिफारिस हुँदा थुप्रै आलोचना भएको थियो। तर, पार्टी ‘हाइ कमाण्ड’ ले उनीमाथि ठूलो विश्वास देखायो र आलोचनाका बाबजुद उनलाई मेयरको टिकट दिने निर्णय गर्यो।
कान्तिकाका श्रीमान मानव पनि यो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे। २०७१ सालमा काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर जुम्ला जाने क्रममा उनको विमान दुर्घटनामा निधन भएको थियो। उनको निधनपछि नेपाली कांग्रेसले जुम्लामा ठूलो क्षति बेहोरेको महसुस गरेको थियो। कान्तिका आफ्नो श्रीमानले जुम्लीहरुको जीवनशैली उकास्न देखेको सपना आफूले पूरा गर्ने बाटोतर्फ लाग्ने बताउँछिन्। ‘उहाँलाई म निकै मिस गरिरहेको छु। उहाँले जुम्लावासीको जीवनस्तर उकास्न देख्नुभएको सपना पुरा गर्नु मेरो पहिलो उद्देश्य हुनेछ,’ उनले भनिन्। उनी जुम्लाको सामुदायिक स्कुल कर्णालीकी शिक्षिका पनि हुन्। उनले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छन्।