नेपालमा पनि स्वाइनफ्लुको खतरा ! कसरी बच्ने स्वाइनफ्लुबाट ?
स्वाइन फ्लु भनेर चिनिने इन्फ्लुएन्जा एच१एन१ नामको भाइरसको सङ्क्रमणले मानिसको मृत्युसमेत हुन सक्छ । विशेषगरी सुँगुरमा पाइने यो भाइरस आफनो आनुवांशिक गुण परिवर्तन गरेर मानिसमा फैलिने गर्दछ । यो भाइरस साधारण फ्लुको भाइरस जस्तैगरी फैलिन सक्छ । जब कुनै सङ्क्रमित व्यक्तिले खोक्छ वा हाच्छ्युँ गर्दछ, त्यस्तो व्यक्तिले निकाल्ने छिटासँगै भाइरस बाहिर आउँछ ।
हावामा फैलिन्छ । त्यही बेला निरोगी व्यक्तिले सास लिँदा भाइरस सर्न सक्छ । सामान्यत मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा एक मिटरसम्म भाइरस फैलिन्छ । भाइरस भएको छिटा कुनै वस्तुमा पर्याे भने त्यस्तो वस्तु पनि जोखिमयुक्त बन्छ । ढोकाको हेन्डिल, सिराने, किबोर्ड, मोबाइल, रिमोट कन्ट्रोल जस्ता वस्तुमा रोगी व्यक्तिको छिटा पर्याे भने त्यस्ता वस्तुमा भाइरस २४ घण्टासम्म जीवित रहन्छ । त्यस्ता वस्तुलाई निरोगी व्यक्तिले प्रयोगमा ल्याउने क्रममा पनि स्वाइन फ्लु सर्न सक्छ । यसकारण यो भाइरस तीव्र गतिमा फैलिन सक्छ । यो भाइरसले सङ्क्रमण गर्छ नै भन्ने ग्यारेन्टी चाहिँ हुँदैन । किनभने केही मानिसको रोगप्रतिरोधी क्षमता बलियो छ भने भाइरसले सङ्क्रमण नगर्न सक्छ । तर भाइरस कडा हुने भएकाले सजिलै फैलिने खतरा हुन्छ ।
फ्लु भन्ने वित्तिकै तपाईं हामी सामान्य रुघाखोकी वा मौसमी ज्वरो भन्ने बुझ्छौँ । स्वाइनफ्लुको प्रारम्भिक लक्षण पनि सामान्य रुघाखोकी जस्तै हुन्छ । तर पनि स्वाइनफ्लुका केही विशेष लक्षण हुन्छन् । ती लक्षण ज्याने लिने रोग बन्न पनि सक्छन् । स्वाइनफ्लुको सङ्क्रमणमा शरीरको तापक्रम ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी हुनु, अत्यधिक थकान महसुस हुनु, टाउको दुख्नु, रुघा लाग्नु, घाँटी खसखसाउनु, खोकी लाग्नु, सास लिन गाह्रो हुनु, मांशपेशी वा शरीर अति दुख्नु, पेट खराब हुनु, झाडावान्ता हुनु यो रोगका प्रमुख लक्षण हुन् । रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुलाई स्वाइनफ्लु सङ्क्रमण भयो भने ज्यान जाने सम्भावना पनि बढी हुन्छ । क्यान्सर, मिर्गौलासम्बन्धी रोग, गर्भवती महिला, एक वर्षभन्दा कम उमेरको बच्चामा रोग प्रतिरोधी क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिमा स्वाइनफ्लु्का जस्तै लक्षण देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
बालबालिकाहरु रोगबारे सजग हुन सक्दैनन् । यसकारण उनीहरुमा स्वाइनफ्लु्को सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । बालबालिकामा यदि सास फेर्न गाह्रो हुने, आलस्य हुने, धेरै रुने, स्वाइन फ्लुको जस्ता लक्षण देखिने भएमा तुरुन्त अस्पताल लैजानुपर्छ । स्वाइनफ्लुबाट बच्न त्यति सजिलो छैन । तर पर्याप्त सावधानी अपनाएमा सङ्क्रमण हुने सम्भावना धेरै कम हुन्छ । स्वाइनफ्लुबाट जोगिने केही उपायहरु यस्ता छनः
– सामान्य फ्लुभएका बिरामीबाट करिब ६ मिटर पर नै बस्ने ।
– खोक्दा वा हाच्छ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख ढाक्ने ।
– हात धुँदा सावन पानीले कम्तीमा २० सेकेन्ड धुने ।
– फ्लु सङ्क्रमित व्यक्तिका सामान प्रयोग नगर्ने ।
यस्ता सावधानीले स्वाइनफ्लु मात्रै होइन धेरै किसिमका सङ्क्रमणबाट जोगिन सकिन्छ । स्वाइनफ्लु विरुद्धको खोप पनि विकास गरिएको छ । तर यस्तो खोपको प्रभावकारितामा पूर्ण विश्वास गर्न सकिन्न । यद्यपि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले सन् २००९ मा स्वाइनफ्लु विरुद्धको खोपलाई मान्यता दिएको थियो । सो खोपको अध्ययनपछि खोपको एक मात्राले १० दिनसम्म स्वाइन फ्लुबाट जोगाउने देखियो । यो खोपले शरीरमा पर्याप्त मात्रामा एन्टिबडी निर्माण गर्छ ।
जसले भाइरसलाई निस्तेज पार्छ । केही जातिका मानिसको शरीरमा प्राकृतिक रुपमै बलियो एन्टिबडी मौजुद हुने हुनाले खोपको आवश्यकता नै पर्दैन ।
भारतमा स्वाइनफ्लु तीव्र गतिमा फैलिरहेको छ । यो रोग नेपालमा पनि आइसकेको छ । हरेक व्यक्तिले स्वाइनफ्लुबाट जोगिने केही आधारभूत जानकारी राख्नु राम्रो हुन्छ ।
घर, टोल, बस्ती कार्यालय जहाँ रहँदा पनि सजगता अपनाउनु राम्रो हुन्छ । स्वाइनफ्लु सङ्क्रमण भएको सुरुमै पत्ता लाग्यो भने धेरै हदसम्म उपचार सम्भव हुन्छ । अन्यथा यसले ज्यान लिन पनि सक्छ । स्वाइनफ्लु भाइरसबाट जोगिन सबैभन्दा पहिले त सरसफाइमा ध्यान दिनुपर्छ । आफ्नो घर वरपर फोहोर हुन हँुदैन । कतै पनि फोहोर पानी जमाएर राख्नु हुँदैन । जमेको फोहोर पानी पनि हटाउनुपर्छ । यदि घरमा कोही स्वाइनफ्लु वा इन्फ्लुएन्जाबाट ग्रसित छ भने त्यस्तो बिरामीलाई बेग्लै सफा कोठामा राख्नुपर्छ ।
सावुन पानीले हात नियमित धुने, घरको ढोकाको हेन्डिल, किबोर्ट, आदि सफा राख्ने, मास्कको प्रयोग गर्ने, अनुहारमा हात अनावश्यक रुपमा नलैजाने जस्ता सजगता अपनाउन सकिन्छ ।