मन्त्री जीवनबहादुर शाहीको भाग्य ७ पटक बम प्रहार गर्दा पनि बिना चोटपटक यसरी बाँच्न सफल भए
भगवानलाई विश्वास नगर्ने जीवनबहादुर शाहीको भाग्यशाली जीवनयात्रा राजनीतिको केन्द्रदेखि संस्कृति पर्यटन तथा नागरिक उड्यान र खानेपानी तथा सरसफाई मन्त्रीसम्म आइपुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको भूमिकामा रहेका जीवनबहादुर शाही राजनीतिक उतार चढावका कारण खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगे । पानी बेचेरै नेपाललाई धनी बनाउने सकिन्छ,’ मन्त्री शाहीले भने, ‘प्राकृतिक रूपमा सम्पन्न भए पनि नेताको मानसिक कमजोरीले मुलुकलाई उकालो लगाउन सकेनौ ।’ मुलुकलाई अर्गानिकमय बनाउन सकिने उनको ठम्याइ छ ।
शाहीको राजनीतिक जीवनयात्रालाई केलाउने हो भने उनी भाग्यमानी राजनेता भित्र पर्दछन् । राजनीतिको आरोह अवरोहलाई प्रत्यक्ष पार गरेका शाहीलाई सिध्याउने खेल पनि चल्यो शाहीकै शब्दमा, माओवादीबाट मलाई सातपटक बम प्रहार भयो । चोटपटक नलागी बाँचें । कांग्रेस केन्द्रीय सदस्य तीनपटक भइसकें । त्यो पनि निर्वाचित । पार्टी जिल्ला सभापति भएँ । जिविस सभापतिको भूमिका निर्वाह गरिसकेको छु ।
मन्त्री जीवनबहादुर शाहीको जीवन : मलाई सिध्याउन सातपटक बम प्रहारअहिलेसम्म ग्रहशान्ति गराएको छैन । परिवारबाट कहिलेकाहीं हुन्छ । कहिलेकाहीं यस्तो लाग्छ– मैले भगवान्को त गरिनँ, मानिसको चाकडी किन गर्नु ? मृत्यु शाश्वत सत्य हो । मर्नुअघि राम्रो काम गर्ने प्रयत्न गर्नुपर्छ । जन्मेपछि मर्नैपर्छ भनेर थाहा भएकाले मृत्युसँग डराइहाल्नुपर्ने कारण छैन । मृत्युको नजिक पुगेको थुप्रै घटना छन् ।
पहिलो घटना त्यतिबेला जिविसमै सुतिरहेको थिएँ । मलाई सिध्याउन म सुतेको कोठाछेउमा पाँच केजीको प्रेसर कुकर बम राखिएको रहेछ । राति पौने ११ बजेतिर व्युँझिएँ । छटपटीछटपटी भयो । त्यहाँबाट जिविस हलकै अर्को कोठामा गएर सुतें । त्यसको १५ मिनेटपछि ठूलो आवाजसहित प्रेसरकुकर बम विस्फोट भयो ।
दोस्रो घटना माओवादी शान्तिप्रक्रियामा आइसकेपछिको कुरा हो । गाउँ घुम्न निक्लेको थिएँ । एउटा घर बास बसियो । घर ठूलो थियो । झ्यालपट्टि सुतेको थिएँ । भदौको महिना थियो । दिउँसो स्याउ खाएकाले साथी पदम लामाको पेट फुलिएछ । मलाई खाट (पलङ) मा सुत्ने व्यवस्था मिलाइएको थियो । बिरामी भएकाले भुँइमा सुत्न हुँदैन भनेर लामालाई पलङमा सुताएर म भुँइमा सुतें । झ्यालमा मलाई घोप्न विष घोलेर बोतल राखिएका रहेछ । म पलङमा सुतेको भए घोप्थे ।
तेस्रो घटना एक कार्यक्रमलाई लिएर माओवादी र एमाले एकातिर कांग्रेस अर्कोतिर भयो । कुटाकुट भयो । मेरै घरमा पार्टी कार्यालय थियो । नौ बजेसम्म आक्रमण गर्यो भने गर्यो÷गर्यो, नत्र गर्दैन भन्ने सोच्यौं । हात चलाएर गफ गर्ने बानी थियो । गफ गर्नेक्रममा अलिकति टाउको निहुराएर होइन त काका भन्नु र मलाई लक्षित गरेर आगोमा पोलेको ढुंगा प्रहार गर्नु एकैपटक भयो । मिलिसेकेन्डले बाँचें । त्यसपछि आक्रमणकरीले जीवन कति बाठो/चलाख भनेर प्रतिक्रिया दिएका थिए रे ।
चौथो घटना हुम्लाको च्यादुक भन्ने गाउँमा पुगेका थियौं । साथमा साथीभाइमात्रै छन् । तर, मेरो खानामा विष हालिसकिएको रहेछ । मेरा लागि पस्किएको भात थाल पल्टेर पोखियो । पोखिएको भात कुकुरले खानसाथ मर्यो । चौथो घटनामा पनि बाँच्न सफल भएँ ।
पाँचौं घटना घोडामा चढेको थिएँ । मेरो पछि रहेका साथी पदम लामाले चिच्याउँदै भने, ‘माथिबाट ढोला (ढुंगा) आयो ।’ त्यही समय नाकमा झिँगा कि के पसेर हाच्छ्युँ गर्दा ढुंगाले लाग्नबाट बचें । मृत्युको मुखनेर पुगेको अन्य थुप्रै घटना छन् । देशका लागि राम्रो काम गर्दागर्दै मर्न पाइयोस् भन्ने लाग्छ । -Ratopati