राजधानीमै चोरीको शैली यस्तो : होटलमा बस्ने र कार भाडामा लिएर मध्यदिनमा चोरी गर्नेहरु
कुलेश्वरका स्थानीय नविन रानाभाटका अनुसार पक्राउ परेका इरानी नागरिकहरुको एउटा समूह नै चोरीमा संलग्न भएको देखिएको छ । तीनवटा गाडी भाडामा लिएर चोरी गर्ने धन्दामा संलग्न भएको भन्ने खुलेको छ ।’
स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार यी विदेशी चोरहरु ठमेलस्थित होटल बैसालीमा बस्दै आएका थिए । उनीहरुले साँझ ढोका फुटाएर चोर्ने र दिउँसो मान्छेलाई झुक्याएर चोर्ने गरेका थिए ।
कालीमाटीमा जस्तै स्वयम्भू बृत्तले पनि श्रीमान-श्रीमती र छोराछोरीसहित चार जनालाई पक्राउ गरेको छ । स्वयम्भू बृतका डीएसपी कोमल शाहका अनुसार स्वयम्भुका स्थानीयले आफ्नो स्टोरमा चोरी भएको भन्ने जानकारी दिएपछि चारैजनालाई पक्राउ गरिएको छ ।
कार भाडामा लिएर मध्यदिनमा चोरी गर्नेहरु यसरी समातिएपछि...कुलेश्वरका पसले पुष्प केसी विहीबार दिउँसो आफ्नो पसलमा ग्राहक कुरेर बसिरहेका थिए । ‘पुष्प स्टोर’ नामको मदिरा पसलमा २ बजेतिर एक जना श्याम वर्णका विदेशी आइपुगे ।
हिन्दीमा बोल्ने ती विदेशीले तीन बोतल रक्सी मागे । सय रुपैयाँ बोतल पर्ने सामान्य रक्सीको पैसा तिर्न उनले एक हजारको नोट निकाले ।
पसलेले रक्सीको तीन सय रुपैयाँ कटाएर बाँकी ७ सय फिर्ता गर्नै लाग्दा ती ग्राहकले काउण्टरमै हात हालेर आफूलाई लालीगुराँस भएको पैसा दिन भने ।
पुष्पले केही नभनी ७ सय रुपैयाँ फिर्ता दिएपछि ती विदेशी फर्किए । अलि पर एउटा कार रोकिएको थियो । केहीबेरपछि अर्को ग्राहक आएपछि पो थाहा भयो, काउण्डरमा रहेको ४३ हजार रुपैयाँको बण्डल अघि नै गायब भइसकेछ ।
केसीको मदिरा पसलकै सामुन्ने किराना पसल पनि छ, हेमन्तलाल डल्लाकोटीको । बिहीबार हेमन्तकी श्रीमती पसलमै थिइन् । यतिकैमा बा ११ च २५१२ नम्बरको गाडीबाट दुईजना मान्छे ओर्लिए । अलि वृद्धजस्तो देखिने एकजना हेमन्तको किराना पसलतिर गए भने अर्का एकजना मदिरा पसलतिर ।
हेमन्तले घटनाबारे अनलाइनखबरलाई सुनाए, ‘श्रीमती पसलमै थिइन्, बुढाले सुरुमै गएर काण्टरमा हात हालेछ । त्यो मैले देखेँ र कठालो समातरेर बाहिर निकालेँ ।’
उनले अघि थपे ‘बुढालाई बाहिर निकालेपछि अर्को केटो आइपुग्यो र आफुलाई सगरमाथा र लालीगुँरासको फूल भएको पैसा चाहिएको बतायो । तर, मैले त्यस्तो पैसा छैन भनेर पछाडि धकेलेपछि गाडीबाट तेस्रो मान्छे आयो र कोल्गेट माग्यो । मेरो पसलमा कोल्गेटको र्याक पलि पर छ । म त्यता कोल्गेट लिन गएँ, कोल्गेट किनेपछि उनीहरु गाडी चढेर कलंकीतिर लागे ।’
डल्लाकोटी विदेशीलाई कोल्गेट वेचेर पुष्पको मदिरा पसलतिर लागे । त्यति नै बेला केसीले आफ्नो पसलबाट ४३ हजारको बिटो हराएको सुनाए । यस्तो सुनेर डल्लाकोटी पनि झस्किए र हतार हतार आफ्नो काउण्टरमा आएर हेर्दा उनको पनि गल्लाबाट २५ हजार रुपैयाँ चट भएछ । त्यो बिटोमा पाँच/पाँच सयका नोट थिए ।
कार चढेर आउने विदेशीहरुबाट चोरी भएपछि केसी र डल्लाकोटीले बिहीबार नै तत्काल कालीमाटी प्रहरीसमक्ष पुगेर उजुरी दिए ।
सोही उजुरीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गर्यो, जो इरानी नागरिक रहेको खुलेको छ । पीडित डल्लाकोटीका अनुसार ती चोरहरुको समूहले कुलेश्वर क्षेत्रमा मात्रै थुप्रै पसलमा त्यसैगरी चोरी गरेका छन् । सबै पीडितहरु शुक्रबार कालीमाटी प्रहरीकहाँ पुगेका छन् ।