अपराधको शैली यस्तो पनि ! प्रेमीकाको सहयोगमा अपहरण फिरौती असुलेपछि प्रेमीकाकै हत्या
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेको समूहले शनिबार मख्खनगल्तीमा न्यू डालिज साडी र साडी संसार पसल सञ्चालन गर्ने श्यामसुन्दर अग्रवालको अपहरण गरेको थियो ।
अपहरणमा राधिका श्रेष्ठ, किशोर गिरी र सरोज घोरासैने संलग्न रहेको प्रहरीको दाबी छ । महाशाखाले बताएअनुसार मुख्य योजनाकार लामिछाने हुन् र, उनकी प्रेमिका राधिका अपहरित अग्रवालको पसलमा काम गर्थिन् ।
लामिछानेको योजनाअनुसार राधिकाले साहु श्यामसुन्दरलाई ‘अर्जेन्ट’ काम छ भन्दै सनसाइन होटलमा बोलाएकी थिइन् । सोही होटलको अर्को कोठामा प्रकाश लामिछानेको समूह थियो । होटलमा भेटेपछि श्यामसुन्दर र राधिका दुबैले मदिरा सेवन गरे । त्यही मौकामा लामिछानेको समूहले अपहरण गर्यो ।
यो समूहले श्यामसुन्दरलाई कुटपिट गर्दै हातखुट्टा बाँधिदियो र मुखमा टेप लगाइदियो । १० लाख ७० हजार फिरौती लिएपछि उनलाई त्यहीँ छाडेर चारै जना भागे ।
अपहरणमा संलग्न चारै जना बसन्तपुर पुगेर रकम बाँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरोज र किशोरले २-२ लाख पाए भने बाँकी रकम प्रेमी-प्रेमिका समेत रहेका प्रकाश लामिछाने र राधिकाले राखे ।
प्रहरीका अनुसार रकम बाँडेपछि राधिका प्रकाशकै घर गइन् । केहीबेरमा किशोर र सरोज पनि पुगे । तर, आफ्नो प्रेमिकाबाट अपहरणको पोल खुल्ने डर प्रकाश लामिछानेमा आयो ।
प्रहरी हिरासतमा रहेका किशोर गिरीले बताएअनुसार उनले प्रेमिकालाई नै मार्ने योजना बनाए । कार्टुन टेप मुखमा लगाइदिए र डोरीले हातखुट्टा बाँधेपछि प्रकाशले घाँटी थिचेर राधिकाको हत्या गरे । लगतै यो समूहले राधिकाको शव बोरामा प्याक गरेर मोटरसाइकलमा राखेर मुहानपोखरीमा खाल्डो खनेर पुर्यो ।
व्यापारी श्यामसुन्दर अग्रवाल फिरौती बुझाएर छुटेको खबरपछि प्रहरीले अपहरणकारीको खोजी थालेको थियो । त्यसक्रममा धादिङ घर भई कालिमाटी बस्ने २५ वर्षीया राधिकाको शव भक्तपुर मुहानपोखरीमा खाल्डोमा पुरेको अवस्थामा भेटियो । -ONLINEKHABAR