यसरी भयो गुर्जुधारामा ट्रक दुर्घटना: स्कुटरलाई हानेपछि ट्याक्सी हान्दै मिनीट्रकमाथि ठक्कर
3.7K
२०७३ चैत्र ४ गते शुक्रबार दिउँसो काठमाडौंको गुर्जुधारामा ब्रेक फेल ट्रक दुर्घटना भयो । थानकोटबाट कलंकीतर्फ गुडेको ट्रकको गुर्जुधारास्थित काठ गोदाम नजिकै आएपछि ब्रेक फेल भएको थियो । ट्रकले सुरुमा कलंकीतिरै आइरहेको स्कुटरलाई ठक्कर दिएको थियो तर स्कुटर चालक उछिट्टिएर बाँच्न सफल भएका छन् ।
स्कुटरलाई हानेपछि अनियन्त्रित भएको ट्रकले अर्को साइडमा गएर थानकोटतर्फ जाँदै गरेको ट्याक्सीलाई ठक्कर दियो । सो क्रममा ट्याक्सी कच्याककुचुक भयो । त्यसपछि ट्रक सीधै विपरीत दिशाबाटै आइरहेको मिनीट्रकमा गएर ठोकिएपछि रोकिएको थियो ।
ट्रकको ठक्करबाट पछाडि धकेलिएको मिनीट्रकको ठक्करबाट पछाडिबाट आइरहेको मोटरसाइकल पनि ढलेको थियो ।
‘ब्रेक फेल भएपछि ट्रक पूरै अनियन्त्रित भएर करिब ४—५ सय मिटर गुडेपछि मिनीट्रकमा ठोकिएर रोकिएको थियो, थानकोटका डीएसपी कृष्ण पंगेनीले भने ।
बा १ ज ७९६७ नम्बरको ट्याक्सी चालक काभ्रेका कान्छा लामा र मिनीट्रकका चालक झापाका डम्बर पोखरेलको मृत्यु भएको छ ।