सादगी जीवनशैली र स्वभावका, अलविदा ! रामहरी ढुंगेल : हार्दिक श्रद्धान्जली !!
उमेरले ६० वर्ष कटेका ढुंगेलले सुतेकै अवस्थामा मृत्युवरण गर्दा परिवारका अन्य सदस्य कोही थिएनन् । उनलाई कोठामा तातोपानी तताएर खुवाउने पनि कोही थिएनन् ।
रामहरि एक्लो नहोउन् पनि किन ? रामहरिले जीवनमा विवाह नै गरेनन् ।
रामहरिको जीवनशैली जस्तो सादगी थियो, उनको स्वाभाव पनि त्यस्तै थियो । उनी कसैलाई भनी बिझाउँदैनथे । त्यसैले त जिल्लामा उनलाई कांग्रेस भएता पनि कम्युनिष्टहरुले पनि उत्तिकै सम्मान गर्थे ।
तर, कोठामा खाना पकाएर खुवाउने कोही नभए पनि रामहरि एक्लो भएनन्, उनले जीवनमा धेरै इष्टमित्र र आफन्त कमाए ।
ढुंगेलको अन्त्येष्टिपूर्व नेपाली कांग्रेसले उनको पार्थिव शरीरलाई विहीबार पार्टी कार्यालय सानेपामा राखेर सम्मान प्रकट गर्यो ।
रामेछापको पकरबास गाविसमा ढुंगेल मध्यम वर्गको सामान्य परिवारमा जन्मिएका हुन् । कांग्रेस नेता रामहरि ढुंगेलले ०५६ सालको चुनावमा रामेछाप क्षेत्र नं २ बाट चुनाव जितेका थिए । सो क्षेत्रमा उनले एमालेको समेत समर्थन पाएका अमिक शेरचनलाई हराएका थिए । सोही क्षेत्रबाट ०४८ सालमा चुनाव जितेका पूर्वसांसद कमल चौलागाई नेकपा मालेबाट चुनाव लडेर तेस्रो बनेका थिए । रामहरी पञ्चायतकालमा नेपाल विद्यार्थी संघबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । पञ्चायतकालको उत्तरार्धमा भएको स्ववियु चुनावमा उनी त्रिचन्द्र क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियु सभापतिमा विजयी भएका थिए ।
सांसद बनेपछि केही समय सहायक मन्त्री बनेका ढुंगेल राजनीतिमा त्यो भन्दा माथि कहिल्यै जान सकेनन् । त्यसो त ०६४ सालको पहिलो संविधानसभामा पनि नेपाली कांग्रेसले उनलाई रामेछाप २ मा टिकट दिएको थियो । तर, सो चुनावमा ढुंगलले जीत हासिल गर्न सकेनन् ।