विन्टरमा यस्तो हेल्मेट राम्रो
जाडो मौसममा बाइक चलाउनु निकै कष्टपूर्ण हुन्छ । चिसो हावा सीधै शरीरमा छिर्ने कारण कठ्यांग्रिने सम्भावना हुन्छ । त्यसैले बाइक चलाउँदा शरीर ढाक्न विभिन्न कपडा लगाएजस्तै टाउकोमा पनि फुल हेल्मेट नै लगाउनुपर्छ ।
डाँडाकाँडा तथा कच्ची बाटोमा जानुपर्नेले डर्ट हेल्मेट लगाउनु राम्रो हुन्छ । यो हेर्दा ठूलो देखिए पनि हलुका हुन्छ ।
फुल हेल्मेटले चिसोबाट मात्र नभई धुवाँ–धुलोबाट समेत जोगाउँछ । यो मौसममा चालक मात्र नभएर पछाडि बसेको साथीलाई पनि फुल हेल्मेट लगाउन दिनुपर्छ ।
फुल हेल्मेट खरिद गर्दा भाइजरलाई पनि विशेष महत्व दिनुपर्छ । यो मौसममा शीतलहर तथा तुँवालो बढी लाग्ने गर्छ । त्यसैले राम्रो भिजन भएको भाइजर नभएमा दुर्घटना निम्त्याउन सक्छ । दिनमा मात्र नभएर रातको समयमा पनि क्लियर भिजन दिने भाइजर छनोट गर्नुपर्छ ।
हेल्मेट खरिद गर्दा टाउकोको साइज र क्लिप सजिलै लगाउन मिल्ने ‘रिटेन्सन सिस्टम’लाई महत्व दिनुपर्छ । यस्तो हेल्मेट प्रयोग गर्दा जस्तोसुकै दुर्घटनामा पनि टाउकोबाट हेल्मेट खस्दैन । जसले गर्दा टाउको सुरक्षित बनाउन मद्दत गर्छ ।
इम्प्याक्ट रेसिस्टेन्ट हेल्मेटको बाहिरी सतह राम्रो क्वालिटीको प्लास्टिकबाट बनेको हुन्छ । यसले कुनै कारणवश दुर्घटना भएमा टाउकोमा चोटपटक लाग्ने सम्भावनालाई कम गराउँछ ।
हेल्मेटको भित्री भागमा ‘इनर स्ट्यारो फम’ प्रयोग गरेको हुनुपर्छ । यो फमको सबैभन्दा राम्रो क्वालिटी हो । यसले दुर्घटना भएमा टाउको ठोकिएर दिमागमा पु¥याउने असरलाई कम गराउँछ ।
हेल्मेटको भित्री भाग खोलेर धुन मिल्ने खालको हुनुपर्छ । रिमुभेबल हेल्मेट धुन सजिलो हुने हुँदा सधैँ सफा राख्न सकिन्छ । हेल्मेट सेकेन्डह्यान्ड किन्नु हुँदैन । पुरानो हेल्मेटको गुणस्तर खस्किसकेको हुन्छ ।
एकपटक दुर्घटनामा परेर ठोक्किएको हेल्मेट हेर्दा राम्रो देखिए पनि प्रयोग गर्नुहुँदैन । यस्तो हेल्मेटको टाउकोलाई जोगाउन सक्ने क्षमता सोही दुर्घटनामा प्रयोग भइसकेको हुन्छ । जसले गर्दा अर्कै त्यस्तै दुर्घटना परेमा हेल्मेटले काम नगर्न सक्छ । त्यस्तै, अग्लो स्थानबाट खसेको हेल्मेट पनि प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ ।
उत्कृष्ट कच्चा पदार्थ प्रयोग गरेर बनाइएको हेल्मेटमा इपिएस (एक्स्पान्डेबल पोलिस्ट्रिप्नी फम) प्रयोग भएको हुन्छ । हेल्मेटको गुणस्तर निर्धारण गर्ने एजेन्सीहरू dot, ece, snell, bsi हुन् । तर, यस्ता ब्रान्ड भएका नक्कली हेल्मेट पनि बजारमा पाइन सक्छन् । ओरिजिनल थाहा पाउन हेल्मेटको भित्रपट्टी कोड नम्बर दिएको हुन्छ । सो कोड नम्बर सम्बन्धित एजेन्सीको वेबसाइटमा गएर सर्च गर्दा थाहा हुन्छ ।