नागरिक पोष्ट News


किसानलाई राष्ट्रपति पुरस्कार

4.2K
 पुस ३, २०७३- जिल्लाका तीन कृषकलाई जिल्लास्तरीय उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको छ ।

बाँझेच्यानडाँडा–२ का सङ्ग्राम राई, ऐंसेलुखर्क–९ का परशुराम श्रेष्ठ र दिक्तेल नगरपालिका–१ का भरत राईलाई यो वर्षको उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । दिक्तेलमा आयोजना गरिएको बृहत् कृषि मेला प्रदर्शनी तथा कृषि दिवसको अवसर पारेर उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताए । पुरस्कार बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि कृषिविज्ञ तथा नयाँशक्ति पार्टीका नेता मदन राईले जनही नगद दस–दस हजारको साथमा दोसल्ला ओढाएर सम्मान–पत्र र करुवा प्रदान गरेका हुन् ।

कार्यक्रममा गाउँमा बसेर कृषि क्षेत्रको व्यवसायिक विकासमा योगदान पुर्‍याएका छितापोखरी–६ का विनोद राई, कुभिण्डे–८ का रामकुमार राई, दिक्तेल नगरपालिका–१० की रेणुका राई, बुइपा–६ की पार्वती राई र निर्मलीडाँडा–७ का भोटराज राईलाई उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको छ । उनीहरुलाई जनही नगद पाँच हजार, पाँच सयको साथमा दोसल्ला ओढाएर सम्मान–पत्र र करुवा प्रदान गरिएको हो ।     कार्यक्रममा एक गाउँ, एक उत्पादनमा सफलता हासिल गर्ने कृषि वन तथा वातावरण समिति अर्खौलेलाई विशेष सम्मानस्वरुप नगद दस हजारको साथमा दोसल्ला ओढाएर सम्मान–पत्रको साथमा करुवा प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा छितापोखरीका बाबुराम कार्कीलाई प्राविधिक रुपमा लामो समयदेखि योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।   

कृषि मेला प्रदर्शनीमा खाद्यान्नबाली, तरकारीबाली, फलफूलबाली, दलहन तथा तेलहन, आलुबाली, माछा र व्यक्ति तथा घरेलु उद्योगबाट उत्पादन गरिएका कृषि उपज राखिएको थियो । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्न बृहत् कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो ।

कृषि व्यवसायको सम्मान तथा प्रोत्साहनका लागि जिल्लामा विगत आठ वर्षदेखि निरन्तर कृषि मेला प्रदर्शनी तथा कृषि दिवसको मनाउने गरिएको छ । जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय तथा दर्जन बढी गैरसरकारी संघ, संस्थाहरुको संयुक्त आयोजनामा मेलाको आयोजना गरिएको हो ।

Must View