नागरिक पोष्ट News


असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिल

3K
 २१ पुस, काठमाडौं । आगामी असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिने भएको छ । नापतौल तथा गुणस्तर विभागले साउनको पहिलो साता लाग्दासम्म सबै ट्याक्सीको मिटरमा कम्प्युपराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरेको छ ।

अब बिलिङ सिस्टम जडान नगर्ने ट्याक्सीको मिटर नवीकरण गरिनेछैन । तर, अहिले दैनिक सरदर २० देखि २५ वटा ट्याक्सीले मात्रै मिटर नवीकरण गरिरहेका छन् ।

विभागले बनाएको तालिकाअनुसार प्रत्येक हप्ता ५ सय ट्याक्सीले मिटर जोड्नेछन् । अटेर गर्ने ट्याक्सीलाई अनुगमन गरी कारवाही गर्ने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अनलाइनखबरलाई जानकारी दिए ।मिटरमा आधुनिक बिलिङ सिस्टम नजोडेसम्म ट्याक्सीको मिटर नवीकरण रोकिनेछ । अब ट्याक्सी नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटर हुनै पर्ने ब्यवस्था गरिएको छ ।

यो अवधिमा झण्डै साढे ९ हजार ट्याक्सीले यो मिटर जडान गर्नुपर्नेछ ।

पुडासैनीका अनुसार विभागले तोकेको नम्बर प्लेटका ट्याक्सीले तोकिएको साताभित्र आएर कम्प्युटराइज्ड बिलिङ सिस्टम दर्ता गराइसक्नुपर्नेछ ।

कम्प्युटराइज्ड बिलिङ सिस्टम जोडिएपछि यात्रुले ट्याक्सीमा यात्रा गरेपछि प्रिन्टेड बिल प्राप्त गर्नेछन् ।

जसमा यात्रुले तिर्नुपर्ने शुल्क र यात्रा गरेको दूरीसहित विभिन्न विवरणहरु उल्लेख हुनेछन् । ट्याक्सीवालाको गाडी धनी, ट्याक्सी नम्बर, टेलिफोन नम्बरसहितका विवरण पनि हुनेछन् । अब ट्याक्सीमा समान छुटे पनि यात्रुले सजिलै भेट्टाउन सक्नेछन् ।

यो भएपछि ट्याक्सीले यात्रु ठग्ने क्रम रोकिने विश्वास विभागको छ । मिटरमा प्रिन्टर जडान गर्दा पाँच हजारदेखि ८ हजारसम्म खर्च लाग्नेछ । बजारमा यो प्रिन्टर किन्न पाइन्छ ।

राजधानीमा सर्वसाधारणले ट्याक्सी भाडा महँगो भएको र ठगिने क्रम बढेको गुनासो गरेपछि यो प्रणाली जडान गर्न सुरु गरिएको हो ।

यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्तिमा नियन्त्रण हुने विश्वास छ ।

२०७३ पुष २१ गते ९:५५ मा प्रकाशित

Must View