राजधानीका होटलमा ५० अर्ब लगानी, साढे ४ हजार कोठा थपिँदै
3.8K
काठमाडौं उपत्यकाभित्र सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काम जुन रफ्तारमा हुँदैछ, त्यत्तिकै रफ्तारमा अर्को एउटा व्यावसायिक योजना पनि अघि बढेको छ।
निजी क्षेत्रबाट ठूलो लगानीमा धमाधम निर्माण भइरहेको यो व्यावसायिक योजना हो, होटल। अहिले देशकै प्रतिष्ठित औद्योगिक घरानादेखि गैरआवासीय नेपालीसमेत होटल व्यवसायमा आउँदैछन्। विश्वव्यापी सञ्जाल खडा गरेका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरूको पनि नेपाल प्रवेश हुँदैछ।
होटल एसोसिएसन नेपाल (हान) का अनुसार सन् २०१९ भित्र कुल ५० अर्ब रुपैयाँ लगानीका ठूला होटलहरू सञ्चालनमा आउने छन्। यसबाहेक सानो लगानीका निर्माणाधीन तारे होटलहरू प्रशस्तै छन्, जसमा थप २५ अर्ब लगानी हुने हानका कार्यकारी निर्देशक रमेश अर्यालले बताए।
सबै जोड्दा काठमाडौं उपत्यकामा मात्र झन्डै ७५ अर्ब रुपैयाँ लगानीमा होटल बनिरहेको हानले जनाएको छ।
पाँचतारे वा त्यो सरहका सुविधायुक्त ठूला होटल आयोजनामा मेरियट, होटल समिट, सिल्भर हेरिटेज, डबल ट्री हिल्टन, जिंक जर्नी काठमाडौं, होटल ली शेर्पा, पवन प्यालेस, चन्द्रागिरी रिसोर्ट लगायत छन्। यसमा नेपालका व्यापारिक घरानाहरू चौधरी ग्रुप, वैद्य अर्गनाइजेसन, सूर्य नेपाल, सेन्चुरी ग्रुप, सुमार्गी ग्रुप लगायत छन् भने नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि होटल निर्माणको घोषणा गरेको छ।
‘नेपालको होटल क्षेत्रले विगत १० वर्षयताकै सबभन्दा बढी सम्भावना देखाएको छ,’ होटल संघका अध्यक्ष अमरमान शाक्यले सेतोपाटीसँग भने, ‘पर्यटकीय सम्भावना धेरै भएकाले व्यावसायीहरू होटलमा लगानी गर्न आकर्षित छन्।’
ठूला आयोजनाहरू राजधानीमा मात्र केन्द्रित हुनुले यसको दीर्घकालीन व्यावसायिक लाभ भने चुनौतीपूर्ण देखिएको उनले बताए।
उनका अनुसार अबका तीन वर्षमा घोषणा गरिएका सबै होटल सञ्चालनमा आए ४ हजार ५ सयभन्दा बढी कोठा थपिनेछन्। यसको कुल बेडसंख्या ९ हजार हुनेछ। यसले वर्षमा करिब ३० देखि ३५ लाख पर्यटक धान्नसक्छ।
अहिले नेपालका तारे होटलमा ९ हजार बेड छन्, जसले एक वर्षमा ३० लाख पर्यटकलाई सेवा दिन पुग्छ। तीन वर्षमै सेवा दोब्बर हुनु भनेको पर्यटन क्षेत्रमा ठूलो सम्भाव्यताको ढोका खुल्नु हो। यसले तीन वर्षपछि नेपालका होटलमा करिब ६० लाख पर्यटक खपत हुन सक्छन्।
वार्षिक औसत ७ लाख पर्यटक आइरहेको नेपालमा तीन वर्षपछि होटलले क्षमताअनुसार पर्यटक पाउलान् त?
‘अहिलेकै होटलले व्यापार पाउन हम्मेहम्मे परिरहेका बेला पर्यटक बढाउन नसक्ने हो भने सबैको लगानी जोखिममा पर्ने अवस्था छ,’ अध्यक्ष शाक्यले भने।
होटल संघका पूर्वअध्यक्ष नरेन्द्र बज्राचार्य यसमा सहमत छन्।
‘घोषणा गरिएअनुसार होटलहरू सञ्चालनमा आए त्यो क्षमता बराबरको पर्यटक कहाँबाट ल्याउने हो त्यसतर्फ पनि अहिलेदेखि नै विचार पुर्याउनुपर्छ,’ उनले भने।
गएको वर्ष नेपाली होटलहरूको वार्षिक औसत अकुपेन्सी (होटलको व्यापार) ६०÷६५ प्रतिशत थियो। सन् १९९३ मा २ लाख ९३ हजार पर्यटक नेपाल आएकामा सन् २०१६ मा जम्मा ७ लाख ५३ हजार पुगेका छन्। गएको ३३ वर्षमा नेपाल आउने पर्यटक संख्या करिब ३ लाखले मात्र बढेको छ।
हालकै होटलको जस्तो व्यापार गर्न पनि तीन वर्षपछि वार्षिक १५ लाख पर्यटक आउनुपर्छ। यो भनेको अहिलेको भन्दा दोब्बर हो। गएको दस वर्षमा जम्मा २ लाख पर्यटक बढेका छन्।
होटल मात्र थपिने, पर्यटनका अन्य पूर्वाधारमा सुधार नहुने हो भने व्यवसाय धान्न गाह्रो पर्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशी बताउँछन्।
‘विमानस्थल, सडक तथा पर्यटकीय गतिविधिमा सुधार आउने हो भने त्यो असम्भव पनि छैन,’ उनले भने, ‘होटल थपिनेबित्तिकै पर्यटकहरू नेपाल आउँछन् भन्ने भ्रम छ। अन्य पूर्वाधारमा लगानी नगरी पर्यटन क्षेत्रले स्थायित्व पाउँदैन।’
होटलमा लगानी गरिरहेको समूहले त्यस्ता अन्य पूर्वाधार निर्माणमा पनि ‘लबिङ’ गर्नुपर्ने, नत्र लगानी जोखिमपूर्ण हुनसक्ने उनको धारणा छ।
होटल संघका अध्यक्ष शाक्य त पर्यटन क्षेत्रको समग्र विकासमा ध्यान नदिने हो भने लगानी जोगाउन गाह्रो पर्ने बताउँछन्।
‘संसारकै महँगो हवाई भाडा भएको, काठमाडौंबाट चितवन जान ९ घन्टा लाग्ने, होटलबाट एयरपोर्ट पुग्नै २ घन्टा लाग्ने अवस्थामा अहिलेकै तालले पर्यटक बढाउन गाह्रो छ,’ उनले भने, ‘होटल सँगसँगै वित्तीय क्षेत्र नै धरापमा पर्न सक्छ।’
करिब ७५ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन होटलमा आधाभन्दा बढी लगानी बैंकको छ। होटलले राम्रो व्यवसाय गर्न नसक्ने हो भने बैंकहरू समेत जोखिममा पर्न सक्ने उनले बताए।
नयाँ लगानीकर्ताहरू भने विगतमा नेपाल आउने पर्यटकको वृद्धिदरलाई आधार मान्दा आगामी तीन वर्षमा पर्यटक बढाउन सकिनेमा आशावादी छन्।
‘आगामी तीन वर्षभित्र पूर्वाधार निर्माणले केही परिणाम दिने संकेत देखिएको छ, यसले धेरै खर्च गर्ने पर्यटक तान्नेछ,’ दुई ठूला होटल आयोजनामा लगानी गरिरहेका व्यवसायी राजेन्द्र बजगाईंले भने, ‘सन् २०२० सम्म कुनै पनि होटल नथपिने हो भने त्यतिबेला पर्यटकलाई बस्ने ठाउँ दिनै गाह्रो पर्छ।’
नेपालका होटलको निम्ति सबभन्दा आकर्षक ग्राहक भारतीयहरू नै भएको उनले बताए। ‘भारतीयहरूको जीवनस्तर दिनानुदिन बढिरहेको छ, त्यहाँबाट नेपाल आउनलाई हवाइजहाज नै चढ्नुपर्दैन, कारबाटै आउन सक्छन्,’ उनले भने, ‘उनीहरुको संख्या जति बढ्यो त्यति बस्ने ठाउँ पनि त चाहियो।’
होटल संघका पूर्वअध्यक्ष बज्राचार्य पनि हवाई यातायातको वृद्धिले पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्ने बताउँछन्।
हाल एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त समयमा कुनै पनि जहाजलाई उडान अनुमति दिन नसक्ने अवस्थामा पुगेको छ। हाल २७ वटा विदेशी एयरलाइन्स र दुईवटा स्वदेशी गरी २९ वटाले अन्तर्राष्ट्रिय उडान गर्छन्। अहिले जति पनि विमानले उडान–अवतरण गर्छन्, त्यसमा दिउँसोको समय दिन नसकिने अवस्था आइसकेको विमानस्थलका महाप्रबन्धक देवानन्द शर्माले जानकारी दिए।
अबको दुई वर्षमा भैरहवामा अर्को विमानस्थल तयार भइसक्ने र त्यसपछि विमानस्थल र हवाई यातायातको एउटा समस्या समाधान हुनेमा पर्यटन बोर्डका प्रमुख कार्यकारी जोशी विश्वस्त छन्। स्वदेशी विमान कम्पनीले जति धेरै अन्तर्राष्ट्रिय उडान गर्छन्, त्यति धेरै पर्यटक तान्न सकिने बज्राचार्य बताउँछन्।
हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग तीन वटा मात्र विमान छन् भने निजी क्षेत्रको हिमालय एयरलाइन्ससँग २ वटा छन्। आगामी ३ वर्षमा हिमालयले ३ वटा र निगमले ३ वटा विमान थप गर्ने योजना बनाएका छन्।
विमानस्थल र एयरलाइन्सको योजना सफल भए तथा सडक सञ्जालको स्तरोन्नति भए होटलको लगानी जोखिममा नपर्ने विश्वास राख्छन् जोशी। ‘यसका लागि यी सबै योजना एकसाथ पूरा हुनुपर्नेछ,’ उनले भने।