नागरिक पोष्ट News


यसरी भएको थियो ३३ किलो सुन तस्करीको एयरपोर्ट सेटिङ

3K
गम्भीर अनुसन्धान नभएकैले ३३ किलो सुन तस्करी भएको ब्युरो प्रहरीको अनुसन्धान रिपोर्ट संलग्न ३१ जनाको नाम सार्वजनिक

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा बरामद ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको घटनामा संलग्न ३१ जनाको नाम सार्वजनिक गरेको छ । तीमध्ये १२ जना मात्रै पक्राउ परेका छन् । फरार सूचीमा दुबईमा रहेका मुख्य सुन मालिक पाँच नेपालीसमेत छन् । सुन तस्करीमा संलग्न ३१ मध्ये तीन जना काभ्रेको एउटै गाउँका छन् । हरिशरण खडका, रामप्रताप खडका र रामहरि कार्की काभ्रे चलाल गणेशस्थान गाविसका हुन् । सामान्य कृषक परिवारका हरिशरण दस वर्षदेखि दुबईमा बस्दै आएका छन् । हरिशरणकै सम्पर्कमा पुगेका रामप्रताप र रामहरिले दुबईबाट ल्याएको सुन बुझ्ने र पहिले नै सम्पर्कमा रहेको सुन पसललाई उपलब्ध गराउने गर्थे । लाजिम्पाट उत्तरढोकामा रहेको दरबार रोदी क्लबका सञ्चालकसमेत रहेका कार्कीले दुबईबाट आएको सुन रोदी क्लबमा पुर्‍याउँथे र त्यहींबाट सुन काठमाडौंका विभिन्न सुन पसलसम्म पुग्थ्यो । फरार अर्का मुख्य अभियुक्त रोशन भने दुबईमा होटल व्यवसायमा संलग्न छन् । कुनै समय उनले काठमाडौंको बालाजुमा जग्गाको कारोबारसमेत गर्थे ।

अवैध सुन विमानस्थलको भन्सार पास गराउन सहयोग गर्नेलाई भन्सार सेटिङबापत दिनुपर्ने रकम मुख्य वितरकबाट रिसिभर हुँदै विमानस्थलमा सेटिङ मिलाउने भन्सारका कर्मचारीलाई एकमुस्ट दिने गरिएको थियो । विमानस्थल सेटिङका लागि प्रतिकिलो ५० हजारदेखि ८० हजारसम्म रकम दिने गरिएको अनुसन्धानले देखाएको छ । त्यस्तै भन्सार पास गराउन सहयोग गर्ने तल्ला कर्मचारीले एकपटक सुन पास गराएबापत दुईदेखि तीन लाख रुपैयाँसम्म लिने गरेको देखिन्छ । एकमुस्ट प्राप्त रकम भने सेटिङमा संलग्न कर्मचारीको दर्जाअनुसार वितरण गरिएको अनुसन्धानले देखाएको छ । त्यस्तै सामूहिक रूपमा प्राप्त रकममध्येबाट एकमुस्ट एक लाख रुपैयाँ भने प्रहरीले पाउने गरेको देखिन्छ । विमानस्थलका कर्मचारीले तस्करसँग बारम्बार फेसबुक म्यासेन्जरमार्फत सूचना आदानप्रदान गर्ने गरेको पनि ब्युरोको अनुसन्धानले देखाएको छ । विमानस्थलका कर्मचारी राजकुमार ढकालले भने सुनसहितको लगेज विमानस्थलमा आएको सूचना दुबई र काठमाडौंमा रहेका तस्करको सञ्जाललाई उपलब्ध गराउने गरेको देखिन्छ । कतिसम्म भने सुन तस्करीमा संलग्न भन्सारका कर्मचारीले आफू बिदामा बस्नसमेत तस्करसँग अनुमति लिएको देखिन्छ ।

प्रहरीले दुबईबाट सुन लिएर आएका गोपालबहादुर शाही, सुन बुझ्ने दिलबन्धु थापा, दुबईबाट सुन पठाउने सन्तोष काफ्ले, सुनका मुख्य वितरक र रकम संकलक रामहरि कार्की, विमानस्थलको भन्सारमा सेटिङ मिलाउने अधिकृत श्रीनारायण यादव, विमानस्थलको स्क्रिन पास गराउने कर्मचारी राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, तस्करीको सुन पास गराउन सुरक्षाको प्रबन्ध मिलाउने एसएसपी श्यामबहादुर खत्री, अवैध सुन खरिद गर्ने वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भिर प्यालेस न्युरोडका सञ्चालकहरू राजेश शाक्य, मनोज श्रेष्ठ, सपन श्रेष्ठ र सुनिल श्रेष्ठलाई पक्राउ गरिसकेको छ । दुबईमै रहेका कृष्णगोपाल अग्रवाल, काठमाडौंमा सुन रिसिभ गर्ने रुविन भनिने रामप्रताप पन्त, प्रकाश खरेल भनिने बुद्धिमान खरेल, सुन क्यारिअर नीरज भनिने भोलाबहादुर मगर, माधव सुवेदी, विष्णु सुवेदी, संकेत खतिवडा उपाध्याय, विमानस्थलका कर्मचारी गंगा भुर्तेल, प्रद्युम्नहरि श्रेष्ठ, तेजबहादुर श्रेष्ठ र अवैध सुन खरिद गर्ने आरके ज्वेलर्सका राजेन्द्रकुमार शाक्य, मल्लिका वज्राचार्य शाक्य, वैभव ज्वेलर्सका सेयरधनी रवि भनिने राजेश बोगटी, सन्नी श्रेष्ठ फरार छन् । फरार भोला मगर भने गोपालबहादुर शाहीसँगै दुबईबाट सुन लिएर आउने व्यक्ति हुन् । पुस २० मा दुबईको सारजहाँबाट काठमाडौं उत्रिएका गोपाल र भोला लगेज नलिईकन त्यस रात कोटेश्वरमा गएर आफन्तकहाँ बसेका थिए । भोलिपल्ट विमानस्थलबाट ट्याक्सीमा सुनसहितको लगेज लिएर आउँदा गोपाल र भोला सँगै थिए । तर ब्युरोका प्रहरीले सुनसहित गोपाललाई पक्राउ गरेकै बखत भोला फरार थिए । साईराम ज्वेलर्सका सञ्चालक विभूति अमोल बालचन्द्र र सालिमार ज्वेलर्सकै रामकिसन गोयल, कुसुम गोयल र राहुल गोयलले पनि तस्करीको सुन खरिद गरेको अनुसन्धानले देखाएको छ ।

सुन तस्करीमा संलग्नले लामो समयदेखि निर्वाध रूपमा सुन भित्र्याइरहेको अनुसन्धानले देखाएको छ । ब्युरोका अनुसार पक्राउ परेका सन्तोष काफ्ले पछिल्ला १७ महिनामा १९ पटक दुबई गएका थिए । यही अवधिमा विष्णु सुवेदी १ सय ८ पटक दुबई गएको देखिन्छ । सुन तस्करी घटनामा गम्भीर अनुसन्धान नभएकैले बारम्बार दोहोरिएको ब्युरोको निष्कर्ष छ । विमानस्थल भन्सार कार्यालयले विगत ५ वर्षमा सुन तस्करीसम्बन्धी ३ सय १४ मुद्दा दर्ता भएको थियो । तीमध्ये गहन अनुसन्धानको अभावमा सबै प्रतिवादी धरौटीमा छुटेको ब्युरोले जनाएको छ । त्यस्तै पछिल्ला ५ वर्षमा राजस्व अनुसन्धान विभागमा दर्ता भएका ४५ वटा सुन तस्करीसम्बन्धी मुद्दामा पनि गहन अनुसन्धानको अभावमा सबै प्रतिवादी धरौटीमा छुटेको ब्युरोले जनाएको छ । २०७१ जेठ ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट दुई किलो अवैध सुन बरामदको घटनामा बिन्दु भनेर पनि चिनिने विजया राई र रामहरि कार्की पक्राउ परेका थिए । जेल परेका राई र कार्कीलाई जरिवानाबापतको रकम दिएर रोशन भुसाल भनिने गुप्तलाल भुसालले छुटाएको देखिन्छ । यिनै रोशन र कार्की सुन तस्करीको पछिल्लो घटनाका मुख्य अभियुक्त देखिन्छन् । त्यस्तै यसअघि पनि सुन तस्करीको प्रकरणमा मुछिएको आरके ज्वेलर्स यो प्रकरणमा सामेल देखिन्छ । २०७१ मंसिर १४ गते प्रहरीले दरबारमार्गबाट सन्नी श्रेष्ठलाई दुई किलो अवैध सुनसहित पक्राउ गरेको थियो ।

-News Source : ekantipur/ जनकराज सापकोटा

Must View