झापाकी ‘पेन्टरवाली’ को पेन्टिङ्ग जिन्दगी
कल्पनाले एकतले घरदेखि लिएर व्यापारिक प्रायोजनका लागि बनाइएका ठूला महलहरुमा समेत रंग लगाइसकेकी छिन् । उनी आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछिन् । उनी उमेरले ३७ पुगिन् । करिब ६ वर्ष अघिबाट घरमा रङ्ग लगाउन सुरु गरेकी उनले अहिलेसम्म करिब १५ सय घरलाई रङ्िगन बनाइसकेकी छिन् ।
धेरै हण्डर खाएर उनी अहिले यो स्थितिमा आइपुगेकी हुन् । सुरुवाती दिनहरु उनका लागि अत्यन्तै संघर्षपूर्ण थिए । ती दिनहरुका बेग्लै कथा छन् । १९ वर्षको कलिलो उमेरमा विवाह गरिन् । मध्यम वर्गको परिवार थियो ।
दुई छाक टार्नकै लागि कृषि पेशामा संलग्न थियो उनको परिवार । तर, त्यतिले मात्र पुग्ने कुरा भएन । उनले दुई वर्ष स्वयम्सेविकाको रुपमा पनि काम गरिन् ।
एकजना साथीले ‘लेबर’ कामको प्रस्ताव लिएर आइन् । उनका लागि जसरी भए पनि पैसा कमाउनु आवश्यक थियो । छोराछोरीको सुन्दर भविश्य कोर्नु थियो ।
त्यसैले तत्काल यो काम गर्ने निर्णय लिइन् । र, थालिन् घर बनाउने ठाउँमा लेबरका रुपमा काम । दिनको दुई सय रुपैयाँ मात्र पाउँथिन् उनी । घर, चलाउनै धौधौ पर्थ्यो ।
यसरी एक वर्षसम्म उनले जसोतसो काम चलाइन् । त्यसपछि आफैं ठेकेदार बन्ने सोच आयो । र, सुरु गरिन्, रङ्गको ठेक्का लिन ।
सुरुमा त महिलाले काम गर्न सक्दैनन् । विश्वास गर्नुहुँदैन भनेर मानिसहरुले भन्थे’, उनले सुनाइन्, ‘तर, अहिले मानिसहरुका सोचाइ परिवर्तन भएको छ । मैले कहिल्यै खाली बस्नु परेको छैन ।’
-गौरव पोखरेल/Onlinekhabar