नागरिक पोष्ट News


कुकुरको उपचारमा डेढ करोड खर्चिए अमेरिकी दम्पत्तिले

5.8K
 मान्छेले घरपालुवा जनावरलाई कतिसम्म माया गर्छन् भन्ने उदाहरण एक अमेरिकी दम्पत्तिले देखाएका छन् । उनीहरुले घरमा पालेको कुकुरको उपचारका लागि एक लाख ५५ हजार डलर (डेढ करोड रुपैयाँभन्दा बढि) खर्चिए ।

अमेरिकाको विलियम्सवर्गमा बस्ने दम्पत्ति केट र बेन स्टर्नले सन् २०१३ मा जाने नामको एउटा फ्रेन्च कुकुर घरमा ल्याएका थिए । ल्याएको ६ महिनापछि कुकुर बिरामी पर्‍यो । शुरुमा लगातार वान्ता गर्न थाल्यो र पछि आफ्नै वान्ता सर्केर निमोनिया भयो । केट र बेन आफ्नो प्यारो कुकुरलाई बचाउन जे गर्न पनि तयार थिए । ड्रपबक्समा सफ्टवेयर डेभलपरका रुपमा काम गर्ने बेनले भन्छन्, ‘आर्थिक कारणले तपाईंको घरपालुवा जनावरको ज्यान जानु हुँदैन ।’

शुरुको वान्तापछि जोनलाई स्थानीय भेटनरी क्लिनीकमा लगियो जहाँ उसलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा १० हजार डलर खर्च भयो । बाँच्ने सम्भावना ३० प्रतिशत मात्र रहेको अवस्थामा जोनलाई एउटा पेट हस्पिटलमा पुर्‍याइयो । त्यहाँ पाँच दिन राख्दा ५० हजार डलर सकियो । फोक्सो र श्वासप्रश्वासको दिर्घरोगबाट पिडित जोनलाई तीन पटकसम्म भेन्टिलेटरमा राख्नुपर्‍यो । सबै गरेर अहिलेसम्म एक लाख ५५ हजार डलर खर्च भइसकेको बेनले बताए ।

जनावरको उपचारमा यति ठूलो रकम खर्चिएकोमा बेन दम्पत्तिलाई कुनै सुर्ता छैन । केट भन्छिन्, ‘हामीलाई आर्थिक रुपमा ठुलै धक्का लाग्यो तर पनि हामी खुशी छौं । कम्तिमा हाम्रो प्यारो कुकुरको ज्यान जोगिएको छ ।’

जोन अहिले पनि पूर्ण स्वस्थ भइसकेको छैन, तर उसको अवस्था सुधारोन्मुख छ । उसलाई अहिले दैनिक नौ वटा औषधि खुवाउने गर्नुपर्छ ।-डेलीमेलबाट

२०७३ पुष २० गते १२:०४ मा प्रकाशित

Must View